काठमाडौं । एमाले सांसद देवीप्रकाश भट्टचनले ललितपुरको गोदावरीदेखि काठमाडौंको बुढानीलकण्ठ हुँदै थानकोटदेखि भक्तपुरसम्म मेट्रो रेल सञ्चालनका लागि बजेट व्यवस्था गर्न माग गरेका छन् । सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आर्थिक वर्ष २०८०/८१ को बजेटमा मेट्रो रेलका लागि रकम छुट्याउन माग गरेका हुन् ।

नेपालका प्रतिष्ठित व्यवसायीसमेत रहेका भट्टचनले थानकोट–चित्लाङ सुरुङमार्गको काम अगाडि बढाएमा काठमाडौं उपत्यकाको जनसंख्याको चाप कम हुने सुझाव दिए । सरकारले अगाडि सारेको नयाँ अवधारणालाई हावादारी भन्न नमिल्ने उनको भनाइ छ ।
नेपाली झण्डाअंकित पानीजहाज सञ्चालनका लागि आवश्यक कानूनी बन्दोबस्त गर्न सरकारको ध्यानाकर्षण गराउँदै उनले भने, ‘कलकत्ता बन्दरगाहमा आउन सक्ने पानीजहाज सञ्चालनमा ल्याउन सकेमा मलेसिया र सिंगापुरबाट हुने ढुवानीका लागि २ अर्ब विदेशी मुद्रा बचत हुन सक्छ ।’
सांसद भट्टचनले बाग्लुङको ढोरपाटन, राराताल तथा दामोदरकुण्डामा स्तरीय होटल सञ्चालनमा ल्याउन सके पर्यटन बृद्धि हुन सक्ने उनको भनाइ छ । उनले भने, ‘ढोरपाटन एकीकृत गुरुयोजनाका लागि प्रधानमन्त्रीसमक्ष निवेदन गरेका छौं, यसलाई अगाडि बढाउन जरुरी छ ।’
जलाशययुक्त उत्तरगंगा आयोजनालाई अगाडि बढाउनसमेत सरकारको उनले ध्यानाकर्षण गराउँदै उनले भने, ‘मुस्ताङमा खम्पा विद्रोह उठेपछि हिमाली क्षेत्रका १३ जिल्लामा हेलिकप्टर सेवा सञ्चालन नभएको अवस्था छ । नेपालीलाई नेपालमा जाँदासमेत गृह मन्त्रालय र नागरिक उड्यन प्राधिकरणको सिफारिस तथा जिल्ला प्रशासनको अनुमति लिनुपर्ने आवश्यकता छ । पहाडी क्षेत्रमा हेलिकप्टर सेवा सञ्चालनका लागि सहजीकरण गर्न जरुरी छ ।’











