हेटौंडा । आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले नेपालमा राजतन्त्र इतिहास बनिसकेको र अब कसैले चाहेर राजतन्त्र नफर्किने बताएका छन् ।

१६औं गणतन्त्र दिवसको अवसरमा आज आइतवार बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले हेटौंडाको बुद्ध चोकमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटनमा मन्त्री श्रेष्ठले यस्तो बताए ।
उनले भने, ‘नेपालमा राजतन्त्र इतिहास बनिसक्यो । अब कसैले चाहेर पनि राजतन्त्र फर्किदैँन । त्यसैले नेपाली इतिहासकै सबैभन्दा महान उपलब्धि गणतन्त्रलाई थप सुदृढ गर्न सबै एकताबद्ध हुनुपर्छ ।’
मन्त्री श्रेष्ठले भने, ‘गणतन्त्रको यस १५ वर्षमा धेरै राम्रा कामहरू भएका छन् । तर, प्रतिगामी शक्तिहरूले गणतन्त्र कि राजतन्त्रझ भन्ने जस्ता हास्यास्पद कुरा गर्दै हिँडिरहेका छन् । मान्छेलाई स्वर्ग जान्छस् कि नर्क भनेर सोध्नु जस्तै हो ।’

सो क्रममा मन्त्री श्रेष्ठले रक्तदान गरेका थिए । प्रदेशवासीलाई गणतन्त्र दिवसको शुभकामना दिँदै मन्त्री श्रेष्ठले भने, ‘रक्तदान जीवनदान हो र यसलाई संस्कृतिको रूपमा विकास गर्नुपर्छ ।’ स्वास्थ्यमन्त्री उत्तम जोशीको अध्यक्षता भएको कार्यक्रममा मन्त्री श्रेष्ठल गायत ३२ जनाले रक्तदान गरेका थिए ।











