Logo
Logo

पहिचानवादीसँग सरकारले तत्काल वार्ता गर्नुपर्छ : इन्द्र आङ्बो


1.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पहिचानवादीहरुसँग प्रदेश सरकारले तत्काल वार्ता गर्नुपर्ने बताएका छन् ।

प्रदेशसभाको बैठकमा बोल्दै नेता आङ्बोले प्रदेशको नाम संशोधन हुँदैन भनेर धार्मिक ग्रन्थजस्तो विषय बनाए दुर्घटना हुने समेत बताए ।

‘हामी विकास र समृद्धिको बाटोमा छौँ । अहिलेको धरासयी अर्थतन्त्रलाई सम्हालेर देशलाई आर्थिक समृद्धिको बाटोमा– रोजगारी र उत्पादनलाई जोड दिएर अगाडी बढ्न खोजिरहेका छौँ । यस्तो बेला आधारभुत प्रश्न भनेको शान्ति सुरक्षा र जनतालाई खुशि सन्तुष्ट बनाउने हो’, उनले भने, ‘हाम्रो राजनीतिक मुद्धामा निकै ठूलो समुदाय नै हामीसँग फरक मतमा उभियो, असन्तुष्ट भयो भने हामीले फलाक्ने विकास र समृद्धिको नारा केवल आर्दश मात्रै हुन जान्छन् । त्यो कुनै पनि कार्यन्वयन हुन सक्दैन । त्यसकारण हामीले नागरिक तहमा उठेका असन्तुष्टिहरुलाई सम्बोधन गर्नुपर्छ ।’

अहिलेको असमान्य परिस्थतीलाई समाधान गर्नको निम्ति सरकारको तर्फबाट तत्काल पहल हुनुपर्ने भन्दै उनले यसका लागि पक्ष-प्रतिपक्ष एकठाउँमा उभिने प्रतिवद्धता जनाए । ‘अहिलेको असमान्य परिस्थतीलाई सामान्यीकरण गर्नको निम्ति सरकारको तर्फबाट तत्काल पहलकदमी होस्’, उनले भने, ‘यसमा हामी पक्ष प्रतिपक्ष या हिजो भोट हाल्ने नहाल्ने सबै एकै ठाउँमा उभिएर यो समाधान गर्नको निम्ति प्रदेश सरकारसँग हामी एक ठाउँमा उभिने प्रतिवद्धता गर्दछु ।’

सडकमा उठेका असन्तुष्टिहरुलाई सरकारले कहिले पनि अन्देखा गर्न नहुने नेता आङ्बोले समस्याको समाधान शान्तिपूर्ण सम्वादको माध्यमबाट गर्नुपर्ने बताए । ‘अहिले ढुंगा हानी राखेका साथीहरु हुन् या ढुंगा छेकी राखेका सुरक्षाकर्मी । सबैको अभिभावक भनेको सरकार हो । शान्ति सुरक्षा चाहिँ केन्द्रको गृहमन्त्रालयको भनेर संघीय सरकारतिर फकाएर हामीले धर पाउँदैनौँ । यो हामीले सिर्जना गरेको समस्या हो हामीले नै समाधान दिनुपर्छ’, उनले भने, ‘सडकमा असन्तुष्टिहरु आइराख्दाखेरी राज्य या सरकार कहिले पनि अन्देखा बन्नु हुँदैन । मुख्यमन्त्री ज्युलाई बारम्बार भेटेर भनेको छु- वहाँहरुका कुरा सुनौँ । हामी केही गर्न सक्दैनौँ भनेर सरकार नागरिकबाट पन्छिन मिल्दैन । यसलाई शान्तिपूर्ण सम्वादको माध्यमबाट समाधान गर्नुपर्छ ।’

उनले कुनै धर्मशास्त्र जस्तो प्रदेशको नामङ्कन गर्ने कुरा अपरिवर्तनीय हुन्छ र ? भन्दै मूख्यमन्त्रीलाई प्रश्न समेत गरे । ‘म माक्र्सवादको विद्यार्थी । मुख्यमन्त्री ज्यु अखिलको अध्यक्ष हुँदा म त अखिलमा संगठित हुँदै थिए । म भन्दा कम मार्कसवाद बुज्नु भएको छ भन्ने मैले कल्पना गर्न सक्दिन’, उनले भने, ‘कुनै धर्मशास्त्र जस्तो यो प्रदेशको नामङ्कन गर्ने कुरा अपरिवर्तनीय हुन्छ र ? माक्र्शवादले यसो भन्छ र ?’, उनले प्रश्न गर्दै भने, ‘मार्क्सवादले त हरेक कुरा परिवर्तन र समय अनुसार शंसोधन गर्न सकिन्छ पो भन्छ त । आज हामीलाई मत दिएर पठाएका नागरिकहरुले यो तहको मत राख्दाखेरी कुनै हालतमा संशोधन हुँदैन भनेर एउटा धार्मिक ग्रन्थ-शास्त्र जस्तो यसलाई विषय बनायौँ भने मेरो विचारमा हामी फेरि दुर्घटनातिर लैजान्छौँ ।’

उनले समस्या समाधानको लागि अहिलेसम्म प्रदेश सरकारको तर्फबाट कुनै पनि पहल नभएको भन्दै प्रदेश सरकार यस जिम्मेवार नबनेको आरोप लगाए । ‘हामीले ठिक गर्यौँ बेठिक गर्यौँ यसको समिक्षा इतिहासले गर्दैजाला । तर, वहाँहरुको माग के हो ? वहाँहरुको धारणा के हो ? वहाँहरुलाई टेबलमा ल्याऔँ छलफल गरौँ । आजसम्म त पहल कदमी नै भएको छैन अच्चम लाग्छ यहाँ केहि भएको छैन जस्तो ! जुन चालचलन प्रवृत्ति देखाइराखेका छौँ’, उनले भने, ‘अहिलेसम्म सर्वदलीय बैठक हुन सकेको छैन । सत्तारुढ दलभित्र यो समस्यालाई कसरी समाधान गर्ने कुनै परामर्श भएकै छैन । पन्छिने कुरा होइन प्रदेश सरकार जिम्मेवार र जवाफदेही छ भन्ने हिसावले यसको समाधान र पहलकदमी सरकारको तर्फबाट होस् ।’

प्रतिक्रिया दिनुहोस्