Logo
Logo

जसपा बाहिरिएपछि मुख्यमन्त्री कार्कीले भने- कानुनअनुसार अगाडि बढ्ने छु



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले ३० दिनभित्र विश्वासको मत लिने बताएका छन् । जनता समाजवादी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

प्रदेशसभाले नामाकरण गरेको ‘कोशी’ नाम खारेजीको माग गर्दै आएको पहिचान पक्षधरको आन्दोलन चर्किँदै गएपछि जसपाले सरकारलाई दिएको समर्थन बुधबार फिर्ता गरेको छ । जसपाबाट एक मात्र सांसद रहेको स्वास्थ्यमन्त्री मन्त्री निर्मला लिम्बूले बुधबार नै पदबाट राजीनामा दिएकी छन् ।

जसपाले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्की नेतृत्वको सरकारको भविष्यलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ । यसैबेला मुख्यमन्त्री कार्कीले आफू कानुनी बाटो अपनाएर नै अगाडि बढ्ने बताएका हुन् ।

बुधबार प्रदेशसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने, ‘जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको ३० दिन भित्रमा विश्वासको मत लिनुपर्छ । म त्यहीअनुसार अगाडि बढ्नेछु ।’

जसपाले समर्थन फिर्ता लिएपछि माओवादी केन्द्रले पनि समर्थन फिर्ता लियो भने सरकारको नीति, कार्यक्रम तथा बजेट पारित कसरी गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘यो नानी पाउनु कहिले कहिले कन्दनी बाट्नु अहिले भनेजस्तो भयो प्रश्न ।’

जसपा सरकारबाट बाहिरिए पनि कोशी प्रदेश सरकार तत्काल अल्पमतमा भने छैन । तर, माओवादी केन्द्रले सरकार छोड्न सक्ने आँकलन गरिएको छ । यद्यपि माओवादीले यस विषयमा कुनै ठोस प्रतिक्रिया दिएको छैन ।

माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रले निर्देशन गरेमा तुरुन्तै सरकारबाट बाहिरिने बताएका छन् । तर, अहिलेसम्म पार्टीले त्यसबारे कुनै निर्णय गरिनसकेको उनको भनाइ छ ।

९३ जनाको प्रदेशसभा रहेको कोशी प्रदेशमा सरकार निर्माणको लागि आवश्यक बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ । जसपा सरकारबाट बाहिरिएसँगै कार्की नेतृत्वको वर्तमान सरकारलाई एमालेका ४०, माओवादी १३ र राप्रपाका ६ गरी ५९ सांसदको समर्थन छ ।

कोशीमा एमालेको ४०, कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ जना सांसद छन् । त्यसैले माओवादीले समर्थन फिर्ता लिएको खण्डमा मुख्यमन्त्री कार्की नेतृत्वको सरकार स्पष्ट अल्पमतमा पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्