Logo
Logo

माओवादीले अनावश्यक बखेडा झिक्यो, संसदमा एक घण्टा चर्काचर्की


1.8k
Shares

काठमाडौं । मंगलबार प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहितका प्रतिपक्षी दलको माग बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरणबारे जवाफ दिने कार्यसूची बनेका थियो ।

दलहरूबिचको सहमति अनुसार नै प्रधानमन्त्रीले सदनमा जवाफ दिने कार्यक्रम तय भएको थियो । प्रधानमन्त्रीले जवाफ दिने भएपछि संसद्को अवरोध हटेको थियो । सोही अनुरूप प्रधानमन्त्रीले भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरणबारे जवाफ दिएका थिए ।

जवाफका क्रममा प्रधानमन्त्री प्रचण्डले भने– ‘भारत भ्रमण सकेर फर्कदा सबैले स्वागत गर्लान्, राम्रो काम गरे भन्लान् भन्ने लागेको थियो तर अनेक आरोप लगाए, हुँदा–हुँदा भैँसीमै चढाए…’ भनेका थिए ।

प्रधानमन्त्रीको जवाफपछि सभामुख देवराज घिमिरेले पुनः प्रश्नका लागि सांसदहरूलाई समय दिए । सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्व शिक्षामन्त्री शिशिर खनालले सभामुखलाई नाम टिपाएर प्रधानमन्त्रीलाई प्रश्न गरे । प्रश्नको सुरुमै सांसद खनालले भने– ‘प्रधानमन्त्रीज्यूले ठूलै काम गरेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहोला भन्ने लागेको थियो । तर, भैँसी चढेर फर्कनु भएछ ।’

खनालले यति भनिनसक्दै नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले खनालको अभिव्यक्तिमा नियमापत्ति जनाए । खनाल बोलिरहेकै बेला पाण्डेले भने– ‘सभामुखज्यू संसदमा अमर्यादित शब्द प्रयोग गर्न पाइन्न । प्रधानमन्त्रीले भैँसी चढे भन्ने शब्द रेकर्डबाट हटाइयोस् ।’

पाण्डेले यति भनिसक्दा एमाले र रास्वपाका सबै सांसद उठेर होहल्ला गर्न थाले । सँगै, सत्तापक्षका सांसद पनि उठेर पाण्डेको पक्षमा उभिए । त्यसपछि चर्काचर्की चल्यो । 

संसदमा चकाचर्की नै चलेपछि सभामुख घिमिरेले ‘प्रधानमन्त्रीले भैँसी चढे’ भन्ने शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिए । त्यसपछि संसद् बैठक झनै चर्काचर्कीमा परिणत भयो । एमालेका सांसद रघुजी पन्त र रास्वपाका सभापति तथा सांसद रवि लामिछानेले भने– ‘प्रधानमन्त्री आफैले बोलेको शब्द बोल्दा किन हटाउनु पर्ने ? यदि, हटाउने हो भने प्रधानमन्त्रीले बोलेको शब्द पनि रेकर्डबाट हटाउनु पर्छ ।’

प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको शब्द हटाउन माग गरिरहेता पनि सभामुखले मानेनन् । तर, एमाले र रास्वपाका सांसदले होहल्ला कायम राखेपछि सभामुख घिमिरे बाध्य भएर ‘जसले प्रयोग गरे पनि प्रधानमन्त्री भैँसी चढेर आए भन्ने शब्दले सकारात्मक सन्देश जाँदैन, त्यसैले जसले बोलेको भए पनि रेकर्डबाट हटाउन निर्देशन दिन्छु’ भनेपछि माहौल केही शान्त बन्यो ।

भैँसी काण्डले तातेको माहौल केही शान्त भएपछि सभामुखले प्रधानमन्त्रीलाई उठेका प्रश्नको जवाफ दिन पुनः समय दिए । जवाफ दिने क्रममा प्रधानमन्त्रीले नागरिकता विधेयकबारे पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेपछि एमाले पुनः आक्रोशित भए निक्कै बेर प्रधानमन्त्री रोष्टममै रोकिए ।

भैँसी काण्डले तातिएका प्रतिपक्षी दलका सांसद प्रधानमन्त्रीको जवाफको विषयलाई लिएर झनै तातिए । निक्कै बेर नोकझोक चलेपछि कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले नियमापत्ति जनाउँदै बोले । शर्मा शान्त र शालीन शैलीमा प्रस्तुत भएपछि संसदमा सन्नाटा छायो । त्यसपछि प्रधानमन्त्रीले उठेका जवाफहरू दिएका थिए ।

भारतले अनुदानमा दिएको उन्नत जातको राँगा प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतले नेपाललाई हस्तान्तरण गरेको थियो । सोही विषयलाई लिएर प्रधानमन्त्री ट्रोलको सिकार भएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले पनि जवाफ दिने क्रममा भैँसीबारे गम्भीर रुपमा नभएर ‘ट्रोल नै बनाए’ भन्दै ठट्यौली पारामा धारणा राखेका थिए । प्रधानमन्त्रीकै भनाइलाई आधार मान्दै रास्वपा संसदले भैँसी शब्द प्रयोग गरेका थिए । तर, माओवादी संसदले प्रधानमन्त्रीको अपमान भएको ठानेर नियमापत्ति जनाउँदा संसद् बैठक झण्डै मुडभेडकै अवस्थामा पुगेको थियो ।

संसद्को नियमावली अनुसार प्रतिनिधिसभाका कुनै सदस्यले अमर्यादित शब्द प्रयोग गरेको खण्डमा सभामुखको रुलिङका आधारमा रेकर्डबाट हटाउनुपर्ने प्रावधान रहेको छ । तर, आजको विषय भने रेकर्डबाट हटाउनै पर्ने प्रकृतिको अमर्यादित भने नरहेको सांसदहरुकै धारणा रहेको छ ।

खासमा आज बहस हुनुपर्ने विषय प्रधानमन्त्रीको भारत भ्रमण, भ्रमणका क्रममा भएका सम्झौता र नागरिकता विधेयक प्रमाणीकरण नै थियो । तर, महत्त्वपूर्ण विषयमा छलफल गर्न छोडेर सांसदहरूले अनावश्यक विषयमा चर्काचर्की गरेर समय खेर फालेका छन् ।

प्रतिक्रिया दिनुहोस्