Logo
Logo

खप्तड क्षेत्र विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा


693
Shares

डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रको समग्र विकासका लागि सरकारले नयाँ परियोजनामार्फत् अगाडि बढ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

खप्तडमा मंगलबारदेखि सुरु भएको प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्र डोटी, अछाम, बझाङ र बाजुराको संगम स्थलका रूपमा रहेको र यो सुदूरपश्चिमको प्रमुख पर्यटकीय केन्द्र रहेकाले यसको विकासका लागि नयाँ परियोजना सञ्चालन गरेर सरकार अगाडि बढ्ने बताए ।

उनले भने, ‘प्रकृतिले दिएको यो अनुपम क्षेत्रको विकासका लागि छुट्टै खप्तड क्षेत्र विकास कोष वा प्रतिष्ठान बनाएर नयाँ परियोजनाबाट विकासका काम अगाडि बढाउने छौं, यो क्षेत्रलाई पर्यावरणमैत्री बनाउँदै पर्यटन र आध्यात्मिक केन्द्रको रूपमा विकास गर्नुपर्छ ।’

उनले खप्तड क्षेत्र प्रकृति र आध्यात्मिकताको संगम क्षेत्र रहेकाले सुदूरपश्चिमको लागि यो आर्थिक समृद्धिको केन्द्र हुनसक्ने बताए । भारतलगायत विभिन्न देशका प्रतिनिधिको उपस्थिति रहेकाले खप्तडको महत्व अन्तर्राष्ट्रिय स्तरमा स्थापित भएको प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमको विकासका लागि पहिलेको भन्दा अलि फरक ढंगबाट ध्यान केन्द्रित गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्