काठमाडौं । सत्तारढ दलका सांसदहरुले नै बजेटमाथि असन्तुष्टिद जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बजेटमाथि जारी सैद्धान्तिक छलफल उनीले असन्तुष्टि जनाएका हुन् ।

बुधबारको बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बजेटजति डँडेलधुरा र गोरखामा केन्द्रित गरिएको टिप्पणी गरे । उनी बुधबारमात्रै न्युजिल्यान्डबाट स्वदेश फर्किएका हुन् । स्वदेश फर्केकै दिन प्रतिनिधिसभा बैठकमा सहभागी भएका उनले भने, ‘बजेटजति सबै डँडेलधुरा र गोरखामा केन्द्रित गरियो भन्ने खालको कुरा मैले सुनेँ । नुवाकोटमा पनि लगेको छ, तेस्रो जिल्लाको रूपमा मागेको त्यहीँ हो भन्नेजस्तो गरिएछ, सबै कुराहरू सुन्नमा त आयो ।’
अध्यक्ष नेपालले बजेट त्यसरी केन्द्रीकृत गर्नुको आधार प्रमाणित भए बेग्लै कुरा, नत्र त्यसरी विन्यास गर्न नहुनेमा जोड दिए । ‘त्यसको आधार छ भने बेग्लै कुरा हो, आधार छैन भने कुनै आधारमा टेक्नै पर्ने थियो’ बजेटबारे छलफलका क्रममा उनले भने, ‘अर्थमन्त्रीसँग जोडिएको, प्रधानमन्त्रीलाई कति जानकारी भएको कुरा हो ।’
यस्तै, जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पनि बजेट बिचौलियाले बनाएको भन्दै टिप्पणी गरेका छन् । उनले भने, ‘बजेट निर्माणको प्रक्रिया नै गलत छ, जनताले सोच्दो होला, माननीयजीहरूले बजेट बनाउँछन्, मन्त्रीजीहरूले बजेट बनाउँछन्, तर, यथार्थमा त्यस्तो छैन, बजेट बनाउने कर्मचारी हुन्छन्, केही बिचौलिया, केही घुसपैठियाहरू हुन्छन् ।’ बजेट बिचौलियाले बनाउँछन् भन्ने कुरा सबै असत्य हो भनेर प्रमाणित हुन नसकेको उनको भनाइ छ ।
कुनैपनि बजेटले संविधान र सिद्धान्तलाई वहन गर्ने बताउँदै सरकारले प्रस्तुत गरेको बजेट यसबाट टाढा पुगेको बताए । उनले भने, ‘मधेसीहरूलाई गोली ठोकेर जारी गरेपनि संविधानमा समाजवादउन्मुख अर्थव्यवस्था छ । तर, बजेट समाजवादउन्मुख छैन, विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित छ ।’











