काठमाडौं । राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले नेकपा एमालेमा आफू फर्कन तयार भएको बताएका छन् ।

बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू एमालेमै फर्कन तयार रहेको बताएका हुन् । एमालेले गरेको ७० वर्षे उमेरहद हटाउने निर्णयको स्वागत गर्दै अध्यक्ष केपी शर्मा ओलीले बोलाए आफू एमालेमै फर्कने बताए । उनले एमाले ओलीसँग भएकाले ओलीले नै आफूलाई पार्टीमा आउन भन्नुपर्ने बताए ।
उनले भने, ‘यदी उहाँहरुले मलाई खबर गर्नुभयो । तपाईलाई अहिले पनि निलम्वन भएको छ । आगामी महाधिवेशनसम्म निलम्वन भइरहन्छ । तपाई आउनुपर्यो भन्नुभयो भने म र मसित रहेका जेजति साथीहरु छन्। त्यो लिएर त्यहाँ एकीकृत हुन हामी जान्छौँ।’
उनले ७० वर्षे हट्नै पर्ने आफ्नो प्रस्ताव रहेको बताएका छन् । ‘मेरो प्रस्ताव उमेरहद हट्नैपर्छ भन्ने थियो । उमेर हदका आधारमा कसैलाई विभेद गर्न पाइँदैन’, उनले भने, ‘यदि मलाई आउनुस् तपाईं पनि बाटो खुल्यो भनेछन् भने म एमालेमा फर्किन्छु ।’
एमाले आफूले निर्माण गरेको पार्टी रहेको भन्दै गौतमले एमालेप्रति माया लाग्ने बताए । आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको उनको भनाइ छ । उनले केही दिन भित्र पार्टी सदस्यता नविकरण गर्ने समेत बताए । गौतमले आफू एमालेमा अध्यक्ष वा महासचिव बन्नका लागि जान नलागेको पनि बताए ।
उनले भने, ‘वामदेव गौतम एमालेमा अध्यक्ष हुन जाने होइन । महासचिव हुन जाने होइन। पार्टीमा योगदान दिन जाने हो ।’











