Logo
Logo

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई छलफलमा बोलायो


819
Shares

काठमाडौं । निर्वाचन आयोगले विभिन्न विषयमा छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ । आयोगले पाँच विषयमा छलफल गर्न शुक्रबार बिहान साढे ११ बजे बस्नेगरी दलहरुलाई बोलाएको हो ।

गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले गरेको बजेट भाषणमा सबै जिल्ला निर्वाचन कार्यालयहरू खारेजी गर्ने निर्णय भएको थियो ।

त्यतिबेला आयोगले प्रेस विज्ञप्ति नै जारी गरी सञ्चालनमा रहेका संरचनाहरूको खारेजी गर्ने निर्णयले संवैधानिक निकायको स्वतन्त्रता, स्वायत्तता र समक्षतामा गम्भीर प्रश्न उठ्न सक्ने अवस्था भएको बताएको थियो ।

यस विषयमा आयोगले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग समेत छलफल गरेको थियो । गृहमन्त्री श्रेष्ठले पनि यस विषयमा अर्थमन्त्री महतसँग छलफल गरी आवश्यक निर्णय गर्ने बताएका थिए ।

यस विषयमा आयोगले पुन: राजनीतिक दलहरूसँग छलफल गर्न लागेको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यस्तै निर्वाचन कानुनको विधेयक सम्बन्धमा र स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली संकलन गर्ने सम्बन्धमा पनि छलफल गर्न लागेको प्रवक्ता शर्माले बताए ।

विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन गर्ने विषयमा पनि आज छलफल हुनेछ । त्यस्तै राजनीतिक दलहरूको लेखा तथा लेखापरीक्षणको सम्बन्धमा पनि छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्