Logo
Logo

फेरि सभापति हुन्छु भनेकाे छैन : देउवा


2.6k
Shares

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताएका छन् । शुक्रबार नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन (डिएलए नेपाल)को ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले अहिलेको समयमा सबै मिल्नुको विकल्प नरहेको बताएका हुन् ।

आफूलाई पुनः सभापति बन्ने रहर नरहेको भन्दै उनले प्रजातन्त्र बलियो बनाउनका लागि कांग्रेस बलियो हुन आवश्यक रहेको बताए । ‘नेपाली कांग्रेस बलियो भयो भने प्रजातन्त्र बलियो हुन्छ , उनले भने, ‘त्यसका लागि सबै मिलेर अघि बढौँ ।’

नेकपा एमालेभित्र उमेर हद हटाइएको भन्दै उनले भने, ‘हामीकहाँ त्यस्तो छैन । तर दुईपटकभन्दा बढी सभापति हुन पाइँदैन । मैले फेरि सभापति हुन्छु भनेकाे छैन ।’ प्रजातन्त्र बलियो भयो भने नेपालको विकासमा ठूलो सहयोग पुग्ने उनको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री देउवाले कानून व्यवसायी अझ बढी सक्षम हुँदै प्रजातन्त्रको रक्षाका लागि लाग्नुपर्ने बताए । उनले भने, ‘रानीतिज्ञले गलत गरेको कुरालाई पनि समाधान गराएर यो ठिक छ र यो छैन भनेर सुझाव दिन सक्ने कानून व्यवसायी हुन् ।’

प्रजातन्त्रलाई बलियो र सुदृढ बनाउन डिएलएको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो । उनले भने, ‘यो भूमिकालाई अझै सशक्त बनाउँदै लैजानुपर्छ ।’ आफू पनि कानूनको विद्यार्थी भएको भन्दै देउवाले अभ्यास गर्न नपाउँदा दुःख लागेको बताए । कानून व्यवसायी पेशा मर्यादित भएको उनको भनाइ थियो ।

उनले बिपी कोइराला पनि कानून व्यवसायी भएको बताउँदै भने, ‘बिपी कोइराला पार्टीमा कानून व्यवसायी (लयर) हुनुहुन्थ्यो । भारतीय नेता जवाहरलाल नेहरू पनि कानून व्यवसायी हुनुहुन्थ्यो । लयर राम्रो हो, मैले पनि ल पढेको हुँ, प्राक्टिस गर्न पाइनँ ’ अमेरिकामा कानून पढेका राष्ट्रपतिलगायत उच्च तहमा पुगेको भन्दै उनले कानूनको ज्ञान सबैलाई हुनुपर्ने बताए ।

कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायाधीश सिफारिस गर्ने क्रममा क्षमताको आधारमा गरिने बताए । उनले भने, ‘नेताहरूको आँगनमा देउसी, भैलो खेलेर न्यायाधीश बन्ने दिन गए ।’ क्षमता नभएका व्यक्तिलाई न्यायाधीशमा सिफारिस नगर्ने प्रतिबद्धता जनाउँदै उनले भने, ‘न्यायालयमा भएको भ्रष्टाचार शून्य गर्न म मन्त्री भएको हुँ । त्यो सफा गर्ने क्रममा ब्रिफकेस बोकेर धाउने न्यायाधीश बन्न सक्दैन । निष्पक्षरूपमा क्षमताका आधारमा न्यायाधीश छानिन्छ ।’

विगतमा शक्ति केन्द्रबाट कानून सञ्चालन भएको उल्लेख गर्दै उनले नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका मन्त्री गुरुङले त्यस्ता शक्ति केन्द्र ढलेको र लोकतन्त्र प्राप्त भएको बताए । उनले भने, ‘पछिल्लो समयमा फेरि हामी ती शक्ति केन्द्रजस्तै बन्यौँ र दण्ड चलाउन थाल्यौँ भने कानूनी राज्यको परिकल्पना अधुरो हुन्छ ।’ लोकतन्त्रलाई बलियो बनाउनका लागि सुशासन आवश्यक रहेको भन्दै कानूनको आँखामा सबै बराबर हुने बताए ।

प्रतिक्रिया दिनुहोस्