Logo
Logo

लम्पीस्किन रोगबाट नवलपरासीमा मरे ७० गाईभैँसी


756
Shares

काठमाडौं । घरपालुवा पशुचौपायामा प्रमुख स्वास्थ्य समस्याका रूपमा फैलिएको लम्पीस्किन रोगबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा ७० वटा गाईभैँसी मरेका छन्।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका अनुसार जिल्लामा हालसम्म लम्पीस्किनबाट ४५ गाई, १० बाच्छाबाच्छी, नौ भैँसी, तीन पाडापाडी तथा तीनवटा गोरु मरेका छन्।

विज्ञ केन्द्रका प्रमुख डा ऋषभ गुरागाईँले लम्पीस्किनबाट जिल्लाको विनयी त्रिवेणी गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको बताए।

उनका अनुसार विनयी त्रिवेणी गाउँपालिकामा १९ वटा पशुचौपाया मरेका छन्। त्यसैगरी मध्यविन्दु नगरपालिकामा १६ तथा कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकामा १०–१० वटा पशुचौपाया मरेका गुरागाईँले जानकारी दिए।

हालसम्म जिल्लाका दुई हजार चार सय ५० पशुचौपायामा लम्पीस्किनको सङ्क्रमण देखिएको उनले बताए। केन्द्र प्रमुख डा चापागाईँका अनुसार जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा आठ सय २५, मध्यविन्दु नगरपालिकामा पाँच सय ४८, कावासोती नगरपालिकामा चार सय २५, हुप्सेकोट गाउँपालिकामा दुई सय ८५, गैँडाकोट नगरपालिकामा एक सय ८५, बुलिङटार गाउँपालिकामा ६९ तथा बौदीकाली गाउँपालिकामा ४६ पशुचौपायामा लम्पीस्किनको सङ्क्रमण देखिएको छ।

लम्पीस्किन रोगबाट जिल्ला सबैभन्दा बढी गाई सङ्क्रमित भएको जानकारी उनले दिए । लम्पीस्किन देखिएका पशुचौपायामध्ये एक हजार सात सय १९ वटा गाई तथा २७ वटा पाडापाडीमा सङ्क्रमण देखिएको छ।

ुलम्पीस्किनबाट पशु मर्ने नै अवस्था होइन,ु उनले भने, ुलम्पीस्किनका कारण पशुचौपायाको शरीरमा आउने फोका पाक्ने र फुट्ने हुन्छ। सययमा उपचार भएन भने फोका फुटेको ठाउँबाट सङ्क्रमण फैलिएर पशुचौपायाको मृत्यु हुने गरेको छ।ु

लम्पीस्किनको मुख्य उपचार खोप भएकाले पशुचौपायामा लम्पीस्किनको सङ्क्रमण नदेखिँदै उनीहरूलाई खोप लगाउनुपर्ने डा। चापागाईँको भनाइ छ।

जिल्लाका सबै पालिकामा निरन्तर अनुगमन तथा निगरानी गरेर भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले औषधि पठाउने काम गरिरहेको उनले बताए। लम्पीस्किनविरुद्धको खोप लगाएमा पशुचौपायाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने भएकाले पशुपालक कृषक सचेत हुनुपर्नेमा उनको भनाइ छ। लम्पीस्किन भाइरल रोग भएकाले लामखुट्टे, झिङ्गा तथा विभिन्न कीराको टोकाइबाट पशुलाई जोगाउनुपर्ने उनले बताए।

लम्पीस्किन रोगको सङ्क्रमणले पशुचौपायाको शरीरमा फोका निस्कने र पशुलाई कमजोर बनाई मृत्युको मुखमा पुर्याउने भन्दै डा चापागाईँले सङ्क्रमित पशुचौपायालाई अन्य पशुसँग नराख्न, त्यस्ता वस्तुलाई आवतजावतमा रोक लगाउन, चरनमा नलैजान, जैविक सुरक्षाका विधि अपनाउन सुझाव दिए।

कृषकले पालेको पशुचौपायामा लम्पीस्किनको शङ्का लागेमा त्यस्ता पशुलाई अन्यबाट अलग गराएर तुरुन्त पशु चिकित्सकलाई खबर गर्नुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्