काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विद्युतीय सवारीको करमा उल्टो निर्णय भएको बताएका छन् । पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले विद्युतीय सवारीको भन्सार तथा अन्तशुल्कलाई ‘¥यासनलाइजेसन’ गर्न गरिएको अर्थमन्त्रीको दाबीलाई तथ्यले गलत सावित गरेको बताएका हुन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि भएको छलफलमा भाग लिँदै तुलनात्मक रुपमा कम किलोवाट क्षमतामा र सार्वजनिक विद्युतीय गाडीको भन्सार तथा अन्तशुल्क बढाउने र महंगा विद्युतीय गाडीको भन्सार तथा अन्त शुल्क घटाउने निर्णयको औचित्य पुष्टि गर्न माग गरे । उपाध्यक्ष पौडेलले भने, ‘यो उल्टो निर्णयको औचित्य के हो ?’
‘¥यासनलाइजेसन गर्न यस्तो उल्टो निर्णय गरिन्छ ?’ अर्थमन्त्रीलाई प्रश्न गर्दै उनले भने, ‘विद्युत खपत बढाउने, पेट्रोलियम पदार्थको आयातसँगै व्यापार घाटा कम गर्न र वातावरण संरक्षण गर्न प्रतिकूल हुने यस्तो निर्णय किन गर्नु परेको हो ?’
उनले विद्युतीय सवारीको करको दर परिवर्तन हुनु र बजेटको ठीक अगाडि ११०० गाडी भित्रनुलाई संयोगमात्र मान्न नसकिने बताए । अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै सार्वजनिक गरेको बजेटमा विद्युतीय सवारी साधनमा कर बृद्धि गरेपछि त्यसको आलोचना भइरहेको छ ।














