काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा नगरी देश परिवर्तन गर्न नसकिने बताएका छन् ।

आइतबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले लोकतन्त्र नभएका कारण देश पछि रह्यो भनेर आन्दोलन गरी लोकतन्त्र स्थापित गरे पनि नागरिकले चाहेको आवश्यकता पूर्ति गर्न नसकिएको बताए ।
राजनीतिक व्यवस्था र परिवर्तनको नेतृत्वको कार्यान्वयन गर्ने जिम्मा लिएका नेतृत्वको कमजोरीका कारण यस्तो समस्या भोग्नुपरेको बताँदै उनले राजनीतिबाट भागेर लोकतन्त्रको रक्षा गर्न र उपलब्धि बचाउन नसकिने बताए ।
उनले राजनीतिमै रहेर देश परिवर्तन गर्न सकिने बताउँदै भने, ‘राजनीतिलाई सफा नगरिकन यो देशमा परिवर्तन गर्न सकिँदैन । त्यो जिम्मा हामीमा छ, साथै सबै नागरिकमा छ । राजनीतिबाट भागेर होइन, राजनीतिमै रहेर हामीले बनाउने कि बर्बाद गर्ने भन्ने यसमै निहीत छ ।’
मन्त्री श्रेष्ठल १२ कक्षा पास गरिसकेपछि विदेश जाने क्रम नेपालका लागि संस्कृति जस्तो बन्न थालेको पनि उल्लेख गरे । विकास र विज्ञानलाई मिसाएर नेपालको संस्कृतिको रक्षा गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उनले बताए ।














