Logo
Logo
नक्कली शरणार्थी प्रकरण

सन्दीपका वकिलले भने- स्वर आफैं ठूलो हुँदोरहेछ श्रीमान


7.5k
Shares

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी ठगी बनाउने प्रकरणका प्रतिवादीहरुको बयान लिनेक्रम जारी छ । गत बुधबारदेखि जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु भएको हो । अहिलेसम्म पाँच जनाको मात्र बयान सकिएको छ ।

बहस पाँचौ दिनसम्म आइपुग्दा केशव दुलाल, सानु भण्डारी, सागर राई, टंक गुरुङ, इन्द्रजित राई, सन्देश शर्मा, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी र टेकनारायण पाण्डेको तर्फबाट कविलहरुले प्रतिरक्षा गरिसकेका छन् । तर अझैपनि आधाभन्दा बढी प्रतिवादीहरुको तर्फबाट वकिलहरुले थुनछेक बहस गर्न बाँकी नै छ ।

थुनछेक बहसको पाँचौ दिनसम्म आइपुग्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेले वकिलमाथि दबाब बढाउँदै लगेका छन् । बहस ढिलो भयो भन्दै न्यायाधीशले वकिलहरुमाथि दवाब बढाएको हो । आइतबारको बहसमा उभिएका अधिकांश कानून व्यवसायीमाथि चाँडो बहस सक्न उनले दवाव दिएका थिए । आइतबार प्रतिवादी सन्दीप रायमाझीको तर्फबाट बाबुराम दाहालले बहस गरेका छन् । उनले बहसका क्रममा ठूलो आवाजमा बोलेको भन्दै न्यायाधीश न्यौपाने झोँक्किएका थिए । उनले दाहाल ठूलो स्वरमा बोलेको भन्दै भने, ‘विस्तारै बोल्नुस्, सुनिहाल्छु नि ।’

न्यायाधीश न्यौपानेले यसरी सम्झाएपछि अधिवक्ता दाहाल रक्षात्मक बनेका थिए । उनले दाहालले, ‘निर्दोष मान्छेलाई फसाउन खोजिएपछि स्वर आफैं ठूलो हुँदोरहेछ श्रीमान ।’

सचिव टेकनारायण पाण्डेको तर्फबाट बहस गरेका अधिवक्ता राम पौडेलले गृह मन्त्रालयले भुटानी शरणार्थी समस्या समाधानका लागि तयार गरेको दस्तावेज सरकारी नभएको र सरकारले त्यसलाई पारित गरेको अवस्था नभएको जिकिर गरेका थिए । पाण्डेलाई समस्या समाधानका लागि आवश्यक पहल गरेको र भुटानी शरणार्थीलाई नेपालमा राखेर कुनै फाइदा नरहेको दलिल गरेपछि न्यायाधीश न्यौपानेले उनलाई रोकेका थिए ।

‘यूएनएचसीआरले नै सन् २०१६ मा नेपालबाट भुटानी शरणार्थीको तेस्रो मुलुक पुनःस्थापन बन्द गरेको रहेछ । बाँकी रहेका भुटानी शरणार्थीको वास्तविकतामै उनीहरुले प्रश्न उठाएको देखिन्छ’ न्यायाधीश न्यौपानेले प्रश्न गरेका थिए, ‘त्यसो भए, तेस्रो मुलुक पुनःस्थापन गर्ने भनेर किन काम गरियो होला ? आखिर सम्बन्धित देशले चाहेमात्र पुनःस्थापन हुने रहेछ ।’

सचिव पाण्डेकै तर्फबाट बहस गरेका अधिवक्ता गणेश रेग्मीलाई न्यायाधीश न्यौपानेले रोकेर सवालजवाफ गरेका थिए । नेपाल प्रहरीका पूर्वएसएसपीसमेत रहेका रेग्मीले गृह मन्त्रालयका कर्मचारीले साथ नदिएपछि सचिव पाण्डेले सूचना संकलनका लागि गिरोहका सदस्यसँग आफैं सम्पर्क गरेको र त्यसलाई अन्यथा लिन नहुने जिकिर गरेका थिए ।

पदीय मर्यादामा रहेर गरेका काममा फौजदारी अपराध आकर्षित नहुने बताएपछि न्यायाधीश न्यौपानेले मुलुकी कार्यविधि संहिता २०७४ को दफा ५४ (४) पढ्न लगाएका थिए । उनले यही उपदफालाई टेकेर सचिव पाण्डे आफैं विभागीय प्रमुख रहेको र कसैबाट स्वीकृति लिने अवस्था नभएको बताएका थिए ।

त्यसपछि बहसमा आएका पाण्डेका अर्का वकिल जगत जोशीमाथि न्यायाधीश न्यौपाने सुरुमै खनिए । ‘हुन त वकिलले सेतोलाई कालो र कालोलाई सेतो बनाउँछन् भन्छन्’ भनेपछि न्यायाधीश न्यौपानेले सोधे, ‘अदालतले त्यस्तो कहाँ भनेको छ ।’

प्रतिवादीलाई कति वटा कसुर लगाइएको छ भनेर जोशीलाई थाहा पनि नभएको उनले बताए । ‘सचिव जस्तो मान्छेले त्यस्ता गतिविधि भएका मान्छेसँग कसरी सीधा कुराकानी गर्न सक्छन् ?’ न्यायाधीश न्यौपानेले प्रश्न गरेका थिए । ६ बजेसम्म बहस सुन्ने तयारी गरेका न्यायाधीशले साढे ४ बजे नै हेर्दाहेर्दैमा राख्नुपर्ने अवस्था बनेको थियो । पालोमा आएका प्रतिवादीले आफ्नो कानून व्यवसायी सोमबारमात्र उपलब्ध हुने बताएपछि न्यायाधीश न्यौपाने झोक्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्