काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट सांसदको खल्तीमा नजाने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित बजेटबारे सांसदहरुले उठाएका प्रश्नको सोमबार जवाफ दिँदै अर्थमन्त्री महतले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बचाउ गरेका हुन् ।

बजेटको महत्व कम देखाउन निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट सांसदको खल्तीमा जाने गरी विनियोजन भयो भनेर प्रचार गरिएपनि यसमा आतिनुपर्ने अवस्था नरहेको उनले बताए । उनले प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोट बजेट विनियोजन गरेको बताउँदै भने, ‘यो रकम माननीयहरुको खल्तीमा जाने होइन ।’
अर्थमन्त्री महतले सांसदहरुको सिफारिसमा बढीमा ५ वटा योजनामा रकम खर्च गर्ने र त्यसको ठेक्का सम्बन्धित मन्त्रालयले लगाउने बताए । उनले भने, ‘माननीय ज्यूहरुले सिफारिस पनि गर्न नहुने जायज छैन । जनताको अपेक्षा धेरै छ, सांसदहरुलाई ल मेकरका रुपमा मात्र जनताले बुझेका छैनन्, सुखदुःखमा सम्बोधन गरिदिओस् । त्यसकारण सिफारिस जायज छ ।’
निर्वाचन क्षेत्र विकास कार्यक्रममा सांसदहरुलाई भेदभाव नगरिएको उनको भनाइ छ । उनले भने, ‘यदि कुनै निर्वाचन क्षेत्रका सांसदहरुले यो रकम नलिने हो भने रकमान्तर भएर पुँजीगत खर्चका रुपमा उपयोग गर्न सकिन्छ ।’











