काठमाडौं । सरकारले बजेट घोषणा गरेसँगै तरकारी तथा फलफूलको मूल्य बढेको छ । सरकारले बजेट सार्वजनिक गरेको १० दिनको अवधिमा अधिकांश तरकारी तथा फलफूलको मूल्य बढेको हो ।

बजारमा प्याजको मूल्य प्रतिकिलो ८० रुपैयाँ पुगेको छ । प्याजको मूल्य १० दिनको अवधिमै दोब्बर बढेको छ । सरकारले प्याज आयातमा भ्याट लाग्ने बनाएसँगै उपभोक्ता मर्कामा परेका छन् ।
नेपाल अन्य केही तरकारीमा आत्मनिर्भर भए पनि प्याजमा भने भारतकै भर पर्नुपर्ने स्थिति छ । त्यसैले बजारमा सरकारको नीतिले प्रत्यक्ष असर देखिएको हो ।
त्यस्तै, सरकारले लसुनको पनि भ्याट खारेज गरेको थियो । सुकेको चाइनिज प्याजको मूल्य भने बढेको छैन तर गत जेठ ५ गते सुकेको लसुन नेपालीको मूल्य भने प्रतिकिलो १४० रहेकोमा जेठ २८ गते आइपुग्दा २१० रुपैयाँ पुगेको छ ।
गत जेठ १५ गते रातो आलुको औसत मूल्य ३९.२० रुपैयाँ रहेकोमा जेठ २८ गते ४५.६७ रुपैयाँ, चमसुरको साग ९३ रुपैयाँबाट बढेर १०५ रुपैयाँ र पालुंगोको साग ९३ रुपैयाँबाट बढेर १०५ रुपैयाँ पुगेको छ । त्यस्तै, जेठ १५ गते मेथीको प्रतिकिलो औसत मूल्य ९७ रुपैयाँ थियो भने जेठ १०५ रुपैयाँ पुगेको छ ।
तरकारी मात्रै नभएर फलफूलको मूल्य पनि उच्च बढेको छ । सरकारले एभोकाडो, स्याउ र नासपातिमा पनि भ्याट खारेज गरेको छ । कालिमाटी बजार विकास समितिका अनुसार एभोकाडोको मूल्य यसबीचमा १५० रुपैयाँले बढेको छ । जेठ १५ मा एभोकाडाको औसत मूल्य प्रतिकिलो ४५० रुपैयाँ रहेकोमा जेठ २८ गते ५५० रुपैयाँ पुगेको छ ।
त्यस्तै, बजेट सार्वजनिक भएको दिन स्याउको औसत मूल्य २६७ रुपैयाँ थियो । अहिले बढेर ३ सय रुपैयाँ पुगेको छ । किबीको मूल्य ५५० रुपैयाँ प्रतिकिलो पुगेको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत कृषिजन्य वस्तुको आयात निरुत्साहित गर्न भन्दै भ्याट छुट खारेज गरेको थियो । तर, सरकारले भ्याट छुट खारेज गरेको अधिकांश तरकारी तथा फलफूलको मूल्य भने दोब्बर रुपैयाँले महँगिएको हो ।
सरकारले यसअघि तरकारी तथा फलफूलसहित अन्य १७० वटा वस्तु आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिएको थियो । तर, अर्थमन्त्री प्रकाशशरण मतहले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै ती वस्तुमा दिँदै आएको छुट खारेज गरेको घोषणा गरेका थिए ।
सरकारले प्याज र शालौट, केराउ, आलु, केराउहरु, बोडीहरु, पालुंगो न्युजिल्यान्ड पालुंगोसमेत, गुलियो वा स्वादिलो मकै, अन्य सागपात र मिश्रित सागपातमा १३ प्रतिशत भ्याट लाग्ने बनाएको छ ।
सरकारले तरकारीसहित एभोकेडो, स्याउ, नास्पति, क्विन्स (श्रीफल), खुर्पानी, चेरीहरु, अमिलो चेरीहरु, स्ट्रबेरी, रैस्पबेरी, ब्ल्याकबेरी, मलबेरी र लोकानबेरी, कालो, सेतो वा रातो किसमिस वा दाख वा मुनक्का र गुस्बेरीहरु, क्रेनबेरी, बिलबेरी, अन्य भ्याक्सिननियम जातिका फलहरुको छुट भ्याट खारेज गरेको छ । जुन कृषकका लागि सकारात्मक पक्ष भए पनि उपभोक्ताको भान्सा भने महगिँदै गएको छ ।
बजेट घोषणा गरेको दिन (जेठ १५ गते) कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको मूल्यअनुसार सुकेको प्याजको मूल्य प्रतिकिलो औसत मूल्य ३५ रुपैयाँ तोकेको थियो । अहिले सोही प्याज बजारमा प्रतिकिलो ८० रुपैयाँमा बिक्री भइरहेको छ ।














