
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज सुनुवाइ हुँदैछ । पूर्वअयोग्य लडाकु लेनिन विष्टलगायतले दायर गरेको रिटमाथि आज (मंगलबार) सुनुवाइ हुन लागेको हो ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई लगायतविरुद्ध बाल सेना दुरुपयोग लगायतका आरोप लगाउँदै आइतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो ।
पूर्व बालसेना तथा बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्ट, बहिर्गमित जनमुक्ति सेनाकै संस्थापक संयोजक कृष्णप्रसाद दंगाल लगायतले प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईका अतिरिक्त गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग लगायतलाई विपक्षी बनाइ मुद्दा दायर गराएका हुन् ।
सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले आफूहरूलाई बाल सैन्यका रूपमा प्रयोग गरेर विस्तृत शान्ति सम्झौतापछिका साढे १६ वर्षसम्म पनि न्याय दिलाउने कार्य नगरेको भन्दै रिट निवेदकहरूले तत्काल आफूहरूलाई बालसेनाको पहिचान दिई परिपूरण, क्षतिपूर्ति, न्याय लगायतका काम कारबाही तत्काल गर्नु गराउनु भनी अन्तरिम आदेशको माग गरेका छन् ।











