Logo
Logo

हामी स्वाधिन छैनौं : पूर्वसभामुख महरा


1.9k
Shares

काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले नेपाल स्वाधिन मुलक नरहेको दाबी गरेका छन् ।

उपचारपछि यसअघि अन्य अस्पतालहरूको उपचार पद्दति तथा व्यवहारको सन्दर्भ जोड्दै उनले नेपाल स्वाधिन नरहेको बताएका हुन् । तर देशको स्वाधिनता कसबाट र कसरी खोसिएको भन्नेबारे उनले विस्तृत खुलाएका छैनन् ।

देशका आम अस्पतालको उपचार विधि तथा स्वास्थ्य सुविधामा राज्यको उदाशिनताप्रति लक्षित गर्दै नेता महराले स्वास्थ्यमा आत्मनिर्भर बन्नुपर्ने संकेत गरे ।

उनले भने, ‘राजनीतिलाई नजिकबाट हेरेको छु, हामी स्वाधिन मुलकमा छैनौं । अहिले यति भनौं, हामी स्वाधिन मुलुकमा छैनौं ।’ दुई सातादेखि पूर्वी नवलपरासीको रजहरस्थित प्राकृतिक चिकित्सालयमा उपचार गराएका पूर्वसभामुख महराले मंगलबार डिस्चार्ज हुनुअघि पत्रकारसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।

राजनीतिक भेटघाट र कार्यक्रमबाट टाढा रहेर महराले पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा उपचार गराएर मंगलबार डिस्चार्ज्ड भएका हुन् ।

चिकित्सालयमा करिब २ साताको बसाइका क्रममा आफूमा अद्भुत अराम मिलेको र विभिन्न देशमा यसअघि गरेको उपचारभन्दा यहाँको उपचारले धेरै रोग छोटो समयमै निको भएको उनले बताए ।

‘मैले नियमित १२ थरि औषधि खान्थें, यहाँ उपचार गराउन थालेको १३ दिनमै मेरो सबै रिपोर्ट सकारात्मक आयो । आजबाट एकथरि मात्रै औषधि सेवन गरे हुने भयो । यो मेरो जीवनको चमत्कार हो । यहाँ बिना औषधि, शरीरमा माटो दल्ने, प्राकृतिक र नियन्त्रित खानपान र ध्यान योग विधि अनुशरण गर्दा पूर्ण निको भएको छु’, महराले भने, ‘मैले धेरै देशमा उपचार गराएको थिएँ । यहाँको जस्तो अद्भुत सफलता कहीँ मिलेको थिएन । मान्छे प्राकृतिक हो । यहाँ प्राकृतिक बिधिबाट मात्र (बिना औषधि) उपचार हुँदो रहेछ । शरीरमा जुनसुकै प्रकारका रोग देखिए पनि यहाँ आउन सल्लाह दिन्छु ।’

चिकित्सालयका निर्देशक डा. विनोद पौडेलले महराले चिकित्सालयको नियम पूर्ण रुपमा पालना गरेकाले छोटो अवधिमा धेरै रोग निको भएको बताए । उनका अनुसार उनले अन्य आम बिरामीहरू झैं यहाँको नियम पालना गरेका थिए ।

१० बिघामा फैलिएको सामुदायिक प्राकृतिक चिकित्सालय समुदायबाट संचालित छ । यो अस्पतालको उपचार पद्दति निकै उपयोगी हुने उनले बताए । साथै यसलाई सरकारीकरण वा निजीकरण गर्नुको सट्टा सरकारकै सहयोगमा समुदायले नै संचालन गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्