काठमाडौं । सुनसरीको धरान-२० स्थित पकुवामा श्रमदान अभियानबाटै कठिन पहाडी भुभाग र भीरपाखा हुँदै पानी ल्याइएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुरु गरेको श्रमदान अभियानको ९८औँ दिनमा करिब ४२ किलोमिटर टाढाबाट कोकाहा खोलाको पानी पकुवामा ल्याइएको हो ।

धरानको मेयरमा निर्वाचित भएलगत्तै धरानको प्यास मेट्न हर्क लागिपरेका थिए । धरानको खानेपानी समस्या समाधन गर्ने उनले श्रमदान अभियान चलाउँदै आएका छन् । सोही अभियानबाट मंगलबार मध्येराति १२ बजेर ३ मिनेटमा कोकाहाको पानी पकुवामा झारिएको हो । पकुवामा पानी खसालेपछि मेयर साम्पाङ भावविह्रल भएका थिए ।
पानीकै लागि रातभर जाग्राम बसका मेयर साम्पाङ कोकाहाको पानी झरेपछि छेउमा उभिएर एकछिन टोलाइरहे । भाबुक भए । केहिबेर बोल्नै सकेनन् । अनि रोए । हातले सबैतिर पानी छर्के । शरिर पनि भिजाए । त्यसपछि उपस्थित धरानवासी पनि सँगै रोए, नारा लगाए । मध्येराति पपुवा खोलामा पानी झार्दा उपमेयर आइन्द्र विक्रम बेघा पनि सँगै थिए । मेयर साम्पाङको अभियानमा उपमेयर बेघाले पनि उतिकै साथ दिँदै आएका छन् ।
मेयर साम्पाङले श्रमदान अभियानमा खटिनेहरूलाई धन्यवाद दिए । ‘धेरै मेहनत गरेका छौँ । ४२ किलोमिटर भिर, पाखाहरूमा पाइप बोकेर पुर्याउनु चानचुने काम होइन । भोकै काम गर्ने श्रमतादातालाई, सहयोगीलाई सम्झन चाहन्छु’, भावकु हुँदै मेयर साम्पाङले भने, ‘यो बाह्रै महिना नसुक्ने मुहान भएकोले ठूलो उपलब्धी हो ।’

श्रमदानबाटै विष्णुपादुकाको शीरबाट पहाड र भिरको बाटो पाइप उचाल्दै ९८औं दिनमा पकुवामा पानी झारिएको हो । उक्त पानी ल्याउन श्रमदाताहरूले आफैंले पैसा उठाएका थिए । पाइप नै किनेका थिए ।
कोकाहाको पानी आइपुगेसँगै धरानलाई खानेपानीको केही राहत मिलेको छ । मेयर साम्पाङको श्रम अभियानबाटै यसअघि पकुवा, सर्दु-खर्दु, निशाने खोला, तामाखान, भालु खोलाको मुहानमा ट्यांकी बनाएर पाइपन जोडिएको छ । तर, कतिपय मुहानमा पानी सुकेको कारण धरानमा पछिल्लो केही समय पानीको अभाव देखिएको छ ।
स्रोतमै पानीको अभावले खानेपानीको नलमा पनी नआएपछि स्थानीयहरु हुलसहित उपमहानगर कार्यालयमा पुगेर मेयर साम्पाङलाई गुनासो गर्थे । सम्पाङले पनि सबैको गुनासो सनेपछि भन्थे ‘प्रकृति रिसाएको छ । अस्ति श्रमदानबाट पानी ल्याएको स्रोतहरु पनि सुके । कोशीको पानी नल्याइ धरानको खानेपानी समस्या हल हुँदैन ।’
यसरी हुलका हुल जनता समस्या लिएर निरन्तर कार्यालय धाउन थालेपछि मेयर साम्पाङले गत शुक्रबार एक समुहलाई भनेका थिए- ‘अब पानी नलिई फर्किन्नँ ।’ त्यसपछि श्रम अभियान चल्दै गरेको कोकाहा खानेपानी परियोजनातिर हिडेका मेयर साम्पाङ शनिबार, आइतबार र सोमबार श्रम अभियानमै खटिए, राति पनि घर फर्किएनन्, त्यहीँ बसे ।
कोकाहा खोलाबाट खानेपानी ल्याउन गत फागुन २३ देखि श्रमदान सुरु भएको थियो । ४० किलोमिटर पाइप बिछ्याएर मंगलबार राति पकुवामा झारिएको हो । अब केही हप्ताभित्र कोकाहाको पानी वितरण ट्यांकीमा लगाउने तयारी छ । श्रमदान अभियानका प्रोजेक्ट मेनेजर दत्तकुमार लिम्बुले भने- ‘मानिसहरूले हामीलाई अनेक कुराहरू गरे, विरोध गरे तर, काकाहाको पानी ल्याएरै छोड्यौँ ।’ उनले यस अभियानबारे किताव समेत छापिनुपर्ने बताए । ‘यो इतिहास हो । अब आउने पुस्ताले पढ्नु पाउनुपर्छ’, उनले भने, ‘देशविदेशका मानिसहरुले भनिरहेका छन् । अब तपाईहरुको यो अभियानबारे किताव छापिनुपर्छ ।’

कोकाहा खानेपानी अभियानको लागि देशविदेशबाट ४ करोड बढी आर्थिक तथा पाइप, खाद्यान्नलगायत सहयोग प्राप्त भएको थियो । प्रत्येक शनिबार ५ हजारभन्दा बढी धरान र धरानबहिरबाट मानिसहरू श्रमदानमा पुग्ने गरेका थिए ।
मेयर हुनुअघि नै उनले खानेपानी आपूर्तिका लागि निरन्तर अभियान चलाउँदै आएका थिए । खानेपानी माग गर्दै दिनहुँजसो विभिन्न नियाक धाउथे । धराने जनताले उनलाई मेयरमा जिताउनुको विभिन्न काराणमध्ये खानेपानी एजेण्डा पनि प्रमुख थियो । मेयर निर्वाचित भएलत्तै धरानको प्यास मेटाउन लागिपरेका मेयर साम्पाङ निरन्तर खटिरहे ।

खानेपानी समस्यको दिर्घकालीन समाधानको लागि मेयर साम्पाङ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेट्न सिंहदरबार र बालुवाटारसम्मै धाएका छन् । कोशीको पानी ल्याउन नगरको बजेट र श्रमदानले मात्रै असम्भव भएपछि उनले संघीय सरकारलाई गुहारेका हुन् ।
मेयर साम्पाङ खानेपानीको अभियानमा मात्रै सिमित छैनन् । उनी नागरिक सचेतनाका काममा पनि जुटिरहेका छन् । उनको नेतृत्वमा धरानमा अहिले सरसफाई, फोहोर व्यवस्थापन, पानीको स्रोत व्यवस्थापन, वृक्षारोपण, ट्राफिक सचेतनालगायत कार्यक्रमहरू निरन्तर भइरहेको छ ।

उनले लागूऔषध प्रयोगको विरुद्धमा पनि सामाजिक अभियान चलाइरहेका छन् । मेयर साम्पाङको यस्तो अभियानले देशविदेश उनको चर्चा हुने गरेको छ । उनको श्रम अभियानमा विदेशी नागरिकहरुले पनि सहभागी जनाइरहेका छन् ।
तर, नेपालका केही राजनीतिक दल, दलका नेता/कार्यकर्ताहरुले भने उनको आलोचना गर्ने गरेका छन् । यदि, मेयर साम्पाङलाई राजनीतिक दलहरूले पनि साथ दिने हो भने धरानमा कोशीको पानी पनि आउन सक्थ्यो ।
साम्पाङजस्तो जनप्रतिनिधि भएको बेला संघीय सरकारले पनि साथ दिने हो भने धरानको प्यास अवश्य मेटिने थियो । धराने जनताले पनि सरकार भएको महशुस गर्ने थिए ।
यस्तै मंगलबार पकुवामा मेयर साम्पाङसहित धरानवासीले उत्सव मनाएका छन् । त्यस क्रममा धरानवासीले पानीसँगै खुशि मनाएका छन् । मेयर साम्पाङले श्रमदान अगुवाहरुलाई सेम्पु लगाएर नुहाईदिएका थिए ।

उक्त उत्सवलाई सम्बोधन गर्दै मेयर साम्पाङले आफू असल काम गर्ने प्रयास गर्ने तर, कहिले खराब काम नगर्ने बताए । ‘म असल काम गर्ने कोशिस गर्छु । गर्न सक्छु सक्दिन त्यो फाल्टो कुरा हो । तर, खराब काम मबाट हुँदैन’, मेयर साम्पाङले भने, ‘एक रति मबाट खराब काम हुँदैन । मबाट भ्रष्टाचार हुँदैन, अनियमितता हुँदैन । नहुने काम गर्दिंन । म यो देशलाई माया गर्ने मान्छे हो ।’











