Logo
Logo

आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोशी सरकार, अध्यादेशबाट बजेट ल्याउने तयारी


567
Shares

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी बजेटको नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले आउँदो आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कायृक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरी प्रदेश प्रमुख खापुङलाई प्रदेशसभामा प्रस्तुत गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।

अल्पमतमा परेको एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट बजेट ल्याउन बुधबार नै बजेट अधिवेशन अन्त्य गर्ने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश सरकार अल्पमतमा परिसकेको र असार १ गते बजेट ल्याउनै पर्ने भएकाले अध्यादेशको विकल्प नभएको एमालेका प्रदेश सांसद लिलाबल्लभ अधिकारीले बताए ।

संविधानको धारा २०२ को उपधारा (१) अनुसार प्रदेशसभा चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले अध्यादेश जारी गर्न सक्ने व्यवस्था छ ।

मुख्यमन्त्री कार्कीले बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत असार १ गते बजेट ल्याए पनि असार १५ गतेसम्ममा नै प्रदेशसभाबाट अस्विकृत हुने अवस्था छ । उनले असार १५ गतेभित्र प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरेर विश्वासको मतका लागि प्रस्ताव राख्नै पर्ने बाध्यात्मक अवस्था छ ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसदको मात्रै समर्थन रहेकाले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेशसभामा रहेका कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ प्रदेश सांसदमध्ये कम्तीमा एक जना प्रदेश सांसद आफ्नो पक्षमा ल्याउन मुख्यमन्त्री कार्कीले जोडबल लगाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्