Logo
Logo

अध्यादेशबाट बजेट ल्याउँदै कोशी सरकार


567
Shares

विराटनगर । कोशी प्रदेश सरकारले दुईवटा अध्यादेश जारी गरेको छ । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार खापुङले कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० जारी गरेका छन् ।

उक्त दुवै अध्यादेश आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रालयमा आज दिउँसो ३ः३० बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
अल्पमतमा परेको एमालेका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले कानुनी उल्झन आउने जोखिम देखेपछि आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याएको हो ।

अध्यादेशबाट बजेट ल्याउन मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख खापुङले प्रदेशसभाको चालू वर्षे अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरिसकेका छन् । प्रदेशसभामा आउँदो वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार प्रस्तुत गरेका थिए । उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको चालू बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।

जनता समाजवादी पार्टी र माओवादी केन्द्रले पदेश सरकारबाट समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ । ९३ सदस्यीय प्रदेशसभामा सत्तारूढ एमालेका ४० र राप्रपाका ६ गरि ४६ र प्रतिपक्षमा कांग्रेसका २९, सभामुखसहित माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक जना गरी ४७ प्रदेश सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्