काठमाडौ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले युवालाई सैनिक तालिम दिनुपर्ने बताएका छन् । युवालाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि सैनिक तालिक दिनुपर्ने बताउँदै उनले बजेटको माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा यससम्बन्धी बजेट व्यवस्था नभएकोले बजेट व्यवस्था गर्न माग गरेका हुन् ।

सांसद सुवालले भने, ‘स्वास्थ्य र अनुसन्धानका लागि १८ वर्ष नाघेका युवालाई सैनिक तालिमका लागि बजेट आएको छैन । जबसम्म नेपाली युवाले स्वास्थ्य र अनुशासन सिक्दैन, सैनिक तालिम प्राप्त गर्दैन, संसारका जुनसुकै देशमा पुगे पनि दुःख पाउनेछन् । नयाँ पुस्तालाई राजनीतिबारे अघि बढाउनका लागि बजेटको व्यवस्था गर्नुपर्छ ।’
उनले राजनीति इमानदारितापूर्वक देश र जनताको सेवा गर्ने हो भनेर युवालाई राम्रोसँग बिचार बुद्धि दिने बन्दोबस्तका लागि बजेट दिनुपर्नेमा जोड दिए । भक्तपुरमा रहेको महेश्वरी खेल मैदानलाई खेलकुद कम्प्लेक्स बजेटमा नभएको बताउँदै उनले भक्तपुरका जनताको खानेपानीको स्रोत सुक्ने गरी बागेश्वरीको मझुवामा बाहालबन नामको जङ्गल मासेर खेल मैदान बनाउनेहरूलाई कारबाही गर्ने कुरा पनि बजेट वक्तव्यमा नभएको उल्लेख गरे ।











