काठमाडौं । सातवटै प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका गरेका छन् । कोशी प्रदेशले बिहीबार अध्यादेशमाफर्त र अन्या ६ प्रदेशले आज आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएको हो ।

आज मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन् । सात वाटै प्रदेशले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार घटाएका छन् ।
कुन प्रदेशको बजेट कति ?
कोशी प्रदेश
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएकोे छ । चालू आर्थिक वर्षको बजेटभन्दा तीन अर्ब ४९ करोड ४८ लाख रुपैयाँ कम हो । आर्थिक वर्ष २०७९/८० मा तत्कालीन आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङ्बोले ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको अनुमानित बजेट ल्याएका थिए ।
अध्यादेश मार्फत बिहीबार बजेट सार्वजनिक गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कुल बजेटको पूँजीगततर्फ १८ अर्ब २० करोड ४२ लाख ५२ हजार रुपैयाँ खर्च हुने अनुमान प्रस्तुत गरे । यस्तै, चालू खर्चतर्फ १४ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ, वित्तीय व्यवस्थापनतर्फ एक करोड रुपैयाँ, स्थानीय तह वित्तीय हस्तान्तरणमा तीन अर्ब ६० करोड २९ लाख रुपैयाँ प्रस्तुत गरिएको छ ।
मधेश प्रदेश
मधेश प्रदेशले ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार बजेट विनियाजन गरेको छ । चालु आर्थिक वर्षभन्दा २ अर्ब ७७ करोड घटाएर बजेट ल्याएको हो । मधेश सरकारले आर्थिक बर्ष २०७९/८० मा ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
आगामी वर्ष पूँजीगततर्फ २५ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री सञ्जय कुमार यादवले जानकारी दिए । ४१.३ प्रतिशत बजेट चालु तर्फ रहेको छ भने ५८.२५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
बजेटको स्रोत व्यवस्थापन तर्फ आन्तरिक राजश्वबाट ४ अर्ब ३७ करोड, राजश्व बाडफाँट ११ अर्ब ३८ करोड, समानिकरण अनुदानबाट ७ अर्ब ४१ करोड र चालु आर्थिक वर्षको मौजाद सञ्चिती १२ अर्ब ९० करोड रुपैयाँ स्रोत रहने रहेको छ । विशेष अनुदान ४९ करोड रुपैयाँ र समपुरक अनुदान ५८ करोड र सशर्त अनुदान ४ अर्ब ५६ करोड रुपैयाँ स्रोत व्यवस्थान गरिएको छ।
बागमती प्रदेश
बागमती प्रदेश सकारले आगामी आर्थिक वर्षको लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैंयाको बजेट ल्याएको छ । बागमतीले ८ अर्ब २३ करोड बढी घटाएर बजेट ल्याएको हो । बागमतीले चालु आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९२ लाखको बजेट ल्याएको थियो ।
कुल विनियोजन मध्ये चालु तर्फ २६ अर्व ७० करोड २७ लाख ६९ हजार, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र वित्तीय व्यवस्था तर्फ ५० करोड विनियोजन गरेको छ ।
कुल विनियोजनमध्ये चालु तर्फ ४२.५८ प्रतिशत, पुँजीगत तर्फ ५६.६२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ०.८ प्रतिशत रहेको छ । आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख, अन्य राजस्वबाट ५ अर्व २६ करोड ९४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट रु १७ अर्ब ८१ करोड २३ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको वचत र अन्य प्राप्तिबाट १४ अर्व ४५ करोड ४७ लाख व्यहोरिने अनुमान गरिएको छ ।
गण्डकी प्रदेश
गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । कुल बजेटमध्ये चालुखर्च १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात ३८.०१ र पुँँजीगततर्फ २० अर्ब १९ करोड पाँच लाख ६२ हजार अर्थात ६०.०४ प्रतिशत बजेट विनियोजन गरेका हुन् ।
यसअघि चालु आर्थिक २०७९÷८० वर्षका लागि प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको थियो । यसआधारमा आगामी वर्षको बजेट झण्डै ४ अर्बभन्दा बढी घटेर आएको छ ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाख बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । उक्त बजेटमध्ये चालु खर्चतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार (३३.६८ प्रतिशत ) र पूँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख (५७.४५ प्रतिशत) रहेको छ ।
यस्तै वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख (८.८७ प्रतिशत) रहने अनुमान गरिएको छ । यो गत वर्षभन्दा २ अर्ब १६ करोड कम हो । अनुमान गरिएको खर्च ब्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ६ अर्ब ७३ करोड ७१ लाख संकलन हुने अनुमान गरिएको छ ।
यस्तै संघबाट राजस्व बाँडफाँडबाट ११ अर्ब ३ करोड ७४ लाख, रोयल्टीबाट २९ करोड, स्थानीय तहबाट २ अर्ब ५० करोड ३० लाख संकलन हुने अनुमान गरिएको छ । प्रदेश सरकारले गत वर्ष ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
कर्णाली प्रदेश
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शुक्रबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले चालु आर्थिक वर्षको तुलनामा करिब २४ करोड कमको बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।
प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा पूँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ५८.६५ प्रतिशत हो ।
यस्तै चालुतर्फ ९ अर्ब २० लाख २४ हजार रहेको छ । यो कुल बजेटको २६.९७ प्रतिशत हो । त्यसैगरी प्रदेश सरकारले स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात् १४.३८ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्षको लागि २९ अर्ब २६ करोड ५९ लाख बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालु तर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पूँजीगत तर्फ १७ अर्ब २ करोड रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।
चालु आर्थिक वर्ष सुदूरपश्चिम प्रदेश सरकारले ०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट ल्याएको थियो । चालु आर्थिक वर्षको बजेट भन्दा आगामी आर्थिक वर्षको बजेट ७ अर्ब ४८ करोड ५ लाख ६५ हजार कमी हो ।











