काठमाडौं । निजी क्षेत्रका शैक्षिक संस्थाको साझा सञ्जालले काठमाडौं महानगरपालिकाले गैरन्यायिक हस्तक्षेप गरी शैक्षिक मेलामाथि रोक लगाएका बताएका छन् ।
आइतबार सञ्जालमा आबद्ध विभिन्न ९ वटा संघसंस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरले शैक्षिक मेलाको ज्यादतीपूर्ण हस्तक्षेप गरेको भन्दै निन्दा गरेका छन् । महानगर प्रहरीले हस्तक्षेप गरी मेला सञ्चालनमा अवरोध पु¥याएका कारण विद्यार्थी र अभिभावक सूसुचित हुने अधिकारबाट वञ्चित भएको उनीहरुको भनाइ छ ।

‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ जेठ ३१ गते काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘आठौं कान्तिपुर हिसान एडुफेयर’ काठमाडौं महानगरपालिकाले रोक लगाएको थियो । मेला उद्घाटन हुनेबित्तिकै महानगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा खटिएको टोलीले स्टलहरू बन्द गराएर भृकुटीमण्डपस्थित मेलास्थलमा ताला लगाएको थियो । मेलास्थलमा बिजुलीसमेत काटिएको संयोजक टंकराज आचार्यले बताए ।
शिक्षा समर्पित प्राज्ञिक वर्ग, विद्यार्थी र अभिभावकको कार्यक्रममा बर्दीधारी प्रहरी परिचालन गरेर शैक्षिक क्षेत्रलाई त्रासपूर्ण बनाउने काम गरिएको विज्ञप्तिमा उल्लेख छ ।
‘शिक्षा मन्त्रालयबाट अनुमति, जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरलाई जानकारी दिएर सुरु भएको मेला कुनै लिखित जानकारीबिना नै कर्मचारी सुरक्षाकर्मी आएर बन्द गराइयो’ पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘विधिवत् ढंगले महिनौँदेखि सुसूचित कार्यक्रमलाई बिथोल्नु, सूचना नदिनु, संवाद नगर्नु, निवदेनहरूको लिखित जानकारी नगराउनु आदि हिसाबले महानगरका तर्फबाट भएको गैरन्यायिक हस्तक्षेपप्रति क्षमायाचना र आर्थिक क्षतिपूर्तिसहित निर्वाध शैक्षिक मेला सञ्चालन गर्न दिन माग गर्दछौं ।’
मेलास्थलमा आइतबार पत्रकार सम्मेलन गरी मेला रोकिएपछि न्यायका लागि अदालत पुगेको हिसान अध्यक्ष रमेश सिलवालले जनाए । उनले १५ करोड रुपैयाँ क्षतिपूर्ति र तत्काल मेला सञ्चालनको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरिएको बताए ।
उनले भने, ‘यो कक्षा १० सम्मको मात्र मेला थिएन । विश्वविद्यालय र सीटीईभीटीका कलेज पनि सहभागी थिए । अघिल्लो वर्ष पनि मेयर बालेन्द्र शाह हुँदा यस्तै मेला गरिएको थियो, यसपालि किन रोकतोक भयो ? अहिलेसम्म केहि जानकारी पाएको छैन ।’ उनले विना सूचना एक्कासी मेलामाथि रोक लगाएको बताउँदै भने, ‘पञ्चायतकालमा पनि कार्यक्रम गर्न रोक लगाउँदा पुर्जी दिइन्थ्यो, के कारणले बन्द गरेको हो, महानगरले चिठ्ठीपत्र, पुर्जी केही दिएको छैन ।’
उनका अनुसार मेलामा काठमाडौं विश्वविद्यालयसहित ७५ शिक्षण संस्थाको सहभागिता थियो । पत्रकार सम्मेलनमा प्याब्सन अध्यक्ष डीके ढुंगानाले मेला रोक्नुका कारण महानगरले दिनुपर्ने माग गरेका छन् ।











