काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । महानगरका प्रमुख बालेन्द्र शाहले भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय फिल्मको प्रर्दशन हुन नदिने बताएका छन् ।

महानगर प्रमुख बालेनले उक्त फिल्मबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । ‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ’, उनले भनेका छन्, ‘उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
उनले उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुतीमाथि ठाडो प्रहार भइ अपुरणीय क्षति हुने सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् । ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ ।’
प्रमुख बालेनको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिने भएको छ । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन’ भन्ने वाक्यलाई भारतमा सच्याउन मेयर शाहले फेसबुक स्टाटसमार्फत तीन दिनको अल्टिमेटम दिएका थिए । आइतबार तीन दिन सकिंदासम्म उक्त संवाद नसच्चिएको भन्दै बालेनले सोमबारदेखि भारतीय फिल्म रोक्न निर्देशन दिएका हुन् ।
आइतबार बेलुकासम्म फिल्म निर्माताले भारतमा उक्त संवादलाई सच्याएका छैनन् । बरु उल्टै फिल्मका गीतकार तथा लेखक मनोज मुन्तशीरले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको भ्रम सिर्जना गर्न खोजेका छन् ।
बालेनले शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पनि पत्र पठाउँदै उक्त आपत्तिजनक संवाद नसच्चाए नेपालभर भारतीय फिल्मको प्रदर्शन रोक्न आग्रह गर्दै पत्र पठाएका थिए ।











