काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी शक्तिहरुलाई एकतावद्ध गर्नका लागि समाजवादी मोर्चा बनाउन खोजिएको बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले निश्चित विचार मिल्ने समाजवादी शक्तिहरु एक हुनु स्वभाविक रहेको भन्दै समाजवादी शक्तिहरुलाई एकीकृत गर्न मोर्चा बनाउन खोजिएको बताए । उनले समाजवादी मोर्चाका कारण कोही पनि डराउनुपर्ने अवस्था नरहेको बताए ।
उनले भने, ‘समाजवादी मार्चाबाट कोही डराउनुपर्ने अवस्था छैन ।’ उनले मोर्चामा आगामी दिनमा अन्य दललाई पनि गोलबन्द बनाउने धारणा राखे । राम्रो उद्देश्यका लागि एक ठाउँ आउँदा विरोध गर्नुपर्ने कुनै कारण नभएको उनको भनाइ छ । माओवादी केन्द्र, नेकपा समाजवादी लगायतका दलले सोमबार समाजवादी मोर्चा घोषणा गर्दैछन् ।











