विराटनगर । विपक्षी गठबन्धन दलले मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्रयोजनका लागि गर्ने प्रदेश सभामा पेस गर्ने प्रस्ताव ‘फेल’ गराउने निर्णय गरेको छ ।

असार १४ गते विशेष अधिवेशन आह्वान गर्न सिफारिस भएसँगै रणनीति बनाउन सोमबार बसेको गठबन्धन दलहरूको बैठकले विश्वासको मतसम्बन्धी प्रस्तावलाई ‘फेल’ गराउने निर्णय गरेको हो ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का कोसी प्रदेश संसदीय दलका नेता, प्रमुख सचेतक, सांसद तथा पार्टी नेतृत्वको संयुक्त बैठक बसेको हो ।
बैठकमा नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापा, प्रमुख सचेतक भुपेन्द्र राई, सांसद केदार कार्की, कांग्रेस केन्द्रीय प्रदीप सुनुवार, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, सांसद जीवन आचार्य र जसपा संसदीय दलका नेता निर्मला लिम्बूलगायत सहभागी थिए ।
बैठकमा सहभागी एक प्रदेश सभा सदस्यका अनुसार मुख्यमन्त्रीले ल्याउने विश्वासको मतसम्बन्धी प्रस्ताव फेल गराउने र गठबन्धन दलबाटै नयाँ सरकार गठनको प्रक्रिया थाल्ने गर्ने निर्णय भएको हो । उनका अनुसार सरकारको नेतृत्वबारे छलफल भएको छैन । तर, जसले लिए पनि विवाद नरहेको उनको भनाई छ ।
जसपा र माओवादी केन्द्रले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कार्की अल्पमतमा परेका छन् । अल्पमतमा परेपछि कार्कीले जारी बजेट अधिवेशन अन्त्य गर्दै जेठ ३२ गते अध्यादेशमार्फत प्रदेश सरकारको बजेट ल्याएका थिए ।
सभामा जेठ ३१ गते नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । नियमित अधिवेशन आह्वान गर्दा सभामा बजेट अध्यादेश पेस गर्नुपर्नेछ ।











