Logo
Logo

मुख्यमन्त्री कार्कीले भोलि विश्वासको मत लिने


3.2k
Shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मत माग्ने भएका छन् । बुधबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि विपक्षी दलसँग पनि विश्वासको मत माग्ने निर्णय गरेको हो ।

गत १७ जेठमा जसपा र २३ गते नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले बिहीबारका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् । उक्त बैठकमा विश्वासको मत माग्ने निर्णय भएको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

पास भएपनि फेल भएपनि विश्वासको मत माग्ने निर्णय भएको बताउँदै उनले भने, ‘प्रतिपक्षी दलसँग पनि विश्वासको मत माग्ने छौँ ।’ विश्वासको मत पाउने वा नपाउने भन्ने प्रदेशसभाले निर्णय गर्ने उनको भनाइ छ । मुख्यमन्त्रीले राजीनामा नदिने बताउँदै उनले भने, ‘विश्वासको मत माग्दा आफ्नो कुरा राख्न पाइन्छ, कन्भिन्स गर्ने अवसर हुन्छ । तर राजीनामा आउँदैन ।’

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सत्ता साझेदार माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीको पक्षमा ४६ मत छ ।

कोशीमा ४० सिट रहेको एमाले र ६ सिटको राप्रपा हाल सरकारमा छन् । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, सभामुखबाहेक माओवादी केन्द्रका १२, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् । सभामुखबाहेक दुवै पक्षमा समान ४६–४६ सांसद छन् । बराबरी भएको अवस्थामा सभामुखले निर्णयक मत दिन पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्