
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी शक्तिहरूबीच एकताका लागि ठोस पहल भइरहेको बताएका छन् ।
शनिबार पोखरामा आयोजित अन्तरक्रियामा बोल्दै उनले माओवादी कमजोर हुँदा सिङ्गो परिवर्तन कमजोर हुने भन्दै पूर्वमाओवादी शक्तिहरूबीच एकताका लागि ठोस पहल भइरहेको बताएका हुन् ।
‘माओवादी कमजोर हुँदा सिङ्गो परिवर्तन कमजोर हुन्छ । हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो । त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरुरी छ,’ उनले भने ।
उनले जनताको त्याग र बलिदानको तागतलाई देश निर्माणमा लगाउने उनको भनाई थियो । ‘हामीभित्र मात्र थपघट गरेर पार्टी पुनर्निर्माण हुँदैन । यस पटक सरकारको नेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ’ प्रधानमन्त्रीले भने, ’त्यसका लागि नयाँ ढङ्गले सोच्दै छौँ । हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ। जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत पनि छ, त्यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ।’
छलफलको क्रममा प्रचण्डले सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर थुपारेकोले त्यसलाई सफा नगरी देश नबन्ने ठोकुवा गरे । सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा सरकार दृढ रहेको उनको भनाइ थियो ।














