Logo
Logo

देशको स्वाभिमान रक्षाका लागि सबै दल एकतावद्ध हुनुपर्छ : अध्यक्ष नेपाल


819
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको काम कारबाही सन्तोषजनक नरहेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले सरकारले सुशासनको प्रत्याभूति र जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको बताएका हुन् ।

सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘सरकारदे जनताले अपेक्षा गरेअनुसार, चाहे अनुसार विकास र निर्माणको कामले गति लिन सकेको छैन । जनताले सुशासनको प्रत्याभूति हुने गरी सरकारले काम कारबाही गर्न सकिरहेको छैन ।’

शनिबार ६५औं संसद दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले वर्तमान गठबन्धन सरकारप्रति असन्तुष्टि पोखेका हुन् । उनले भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति दिने, जनको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी सरकारलाई दवाव दिने काममा लाग्न पनि सांसदहरुलाई आग्रह गरे ।

‘जनताले अपेक्षा गरे बमोजिम विकासले गति लिन सकेको छैन । शासन, प्रशासन चलेको छैन । भ्रष्टाचार अहिले पनि व्याप्त छ’ अध्यक्ष नेपालले भने, ‘ती सबै भ्रष्टाचारलाई उन्मूलन गर्नुपर्ने, सुशासनको प्रत्याभूति दिनुपर्ने र जनतालाई सहज सेवा उपलब्ध गराउनुपर्ने हुन्छ । यी सबैमा निगरानी जनताका प्रतिनिधिहरुकै हुन्छ ।’

अध्यक्ष नेपालले जनताको प्रतिनिधिको हैसियतले सांसदहरुले जनचाहनाअनुसार विकास र सुशासनका लागि भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उनले भने, ‘सांसदहरुको दवावले कति काम गर्न सकिएको छ ? यो आफ्नो ठाउँमा छ । सांसदहरुको भूमिकाको सन्दर्भमा सरकारको भूमिकाको महत्वपूर्ण भूमिका हुन्छ । सुन्नुपर्ने निकायले सुनिदिएन भने, गर्नुपर्ने निकायले चासो राखि दिएनन् भने त्यसले ठूलो समस्या खडा गर्छ । त्यसो हुनाले सबै बीचको सम्बन्ध अनुन्याश्रित छ ।’ उनले देशको स्वाभिमानको रक्षा गर्ने विषयमा सबै राजनीतिक दलहरु एकतावद्ध हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्