
काठमाडौं । अब नेपाली नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ र सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीअनुसार यस्तो व्यवस्था गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूचना जारी गर्दै आगलागी वा पानीले भिजेर नागरिकता नष्ट भएमा, च्यातिएर काम नलाग्ने भएमा, हराएमा, नयाँ ढाँचामा आवश्यक परेमा वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा रहेक नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन सक्ने जानकारी दिएको हो । यसबारे गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुमा सर्कुलर पठाइसकेको छ ।
काठमाडौं उपत्यकामा भने अन्य जिल्लाका नागरिकको चाप बढ्न सक्ने भन्दै तीनवटै जिल्ला प्रशासन कार्यालयबाट प्रदेशअनुसार सेवा प्रवाहको व्यवस्था मिलाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं वा त्यसअन्तर्गतका कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकलाई सेवा दिइनेछ ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय ललितपुरबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका नागरिकलाई तथा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट कोशी र मधेस प्रदेशका जिल्लाका नागरिकलाई सेवा दिइनेछ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयका अनुसार प्रतिलिपिका लागि निवेदन दिने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मा रहेको विवरणसँग हुबहु मिलेमा प्रतिलिपि जारी गरिनेछ ।
तर, अभिलेख नमिलेमा, साविकको नागरिकतामा उल्लेख भएभन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण राखेर प्रतिलिपि लिन चाहेमा तथा पहिलो दृष्टिमै नागरिकता शङ्कास्पद देखिएमा भने सम्बन्धित व्यक्तिले साविकमा नागरिकता लिएको जिल्लामै सम्पर्क गर्नुपर्ने छ ।
















