विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुख्यमन्त्री पाउनुपर्ने सर्त अगाडि सारेको छ । नयाँ सरकार गठनका लागि निर्णायक मानिएको राप्रपासँग नेपाली कांग्रेस र नेकपा माओवादीका नेताहरूले छलफल जारी राखेका छन् । सोहीक्रममा प्रदेशसभामा ६ सिट भएको राप्रपाले कांग्रेस र माओवादीसँग गठबन्धन गर्न आलोपालो सरकारको नेतृत्व पाउनुपर्ने सर्त अगाडि सार्ने भएको हो ।

कोशीमा कांग्रेस र एमाले नेतृत्वका दुवै गठबन्धनमा स्पष्ट बहुमत छैन । त्यसैले कोशीमा नयाँ सरकार गठनका लागि अन्योल छ । यसैबेला मुख्यमन्त्री पाएमा कांग्रेस र माओवादीसँग गठबन्धन गर्न तयार रहेको जनाएको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले नयाँ गठबन्धनबाट सरकार गठनका लागि प्रस्ताव आएमा मुख्यमन्त्री पाउनुपर्ने सर्त राख्ने बताए । उनले भने, ‘कोशीमा मुख्यमन्त्री पाएमा कांग्रेस र माओवादीसँग गठनबन्धन गर्न तयार छौँ ।’
अहिलेको कोशीमा एमाले र राप्रपाको गठबन्धन छ । ९३ सदस्यीय रहेको प्रदेशसभामा एमाले र राप्रपाको ४६ सदस्य रहेको छ । एमालेका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको नपाएपछि नयाँ सरकार गर्न दलहरु छलफलमा जुटेका छन् । तर, सरकार गठनमा जटिलता देखिएको छ । वर्तमान प्रतिपक्षी दल कांग्रेसका २९, माओवादीका सभामुख बाबुराम गौतमसहित १३, नेकपा एकीकृत समाजवादीका ४ गरी ४६ सांसद छन् । यस्तै, जसपाको एक सांसद छन् ।
कोशीमा माओवादीका सभामुख छन् । तर, सभामुखले सरकार गठनको क्रममा मतदान गर्न पाउँदैनन् । यदि राप्रपाले कांग्रेस र माओवादीलाई समर्थन गरेमा सरकार गठनका लागि सहज बन्ने छ ।











