काठमाडौं । अब सवारी चालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उक्त प्रक्रियाको गण्डकी प्रदेशबाट सुरुवात गरेका हुन् ।

यातायात सूचना प्रणाली लागू भएपछि बागमती प्रदेश सरकारको यातायात क्षेत्रको राजस्व अनलाइन प्रणालीमार्फत दाखिला गर्नसक्ने गरी व्यवस्था गरेसँगै राजस्व तिर्न वा सवारी साधनसम्बन्धी विवरण हेर्न सकिने भएको हो ।
अहिले तत्काललाई यो सेवा गण्डकी प्रदेशबाट मात्र सुरु गरिएको मन्त्रालयले जनाएको छ । सेवाको सुरुवात गर्दै मन्त्री ज्वालाले भने ‘सेवाग्राहीले घरबाटै सेवा लिन सकुन् भन्ने योजना अनुरुप यो सेवाको सुरुवात भएको हो । यसले यातायात कार्यालयहरुमा भएको बिचौलियाको अन्त्य गर्न मद्दत पुग्छ ।’
बागमती प्रदेश सरकारले बनाएको विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली २०७८ जारी गरी सवारी चालक अनुमतिपत्रबाहेकका सेवा अनलाइन प्रणालीमा आबद्ध गरी विद्युतीय माध्यमबाट राजस्व भुक्तानी गर्ने व्यवस्था गरेको थियो ।
नियमावलीमा विद्युतीय सूचना प्रणालीमा सेवाग्राहीले सवारीको विवरण प्रविष्ट गर्न तथा मन्त्रालय वा कार्यालयले सेवाग्राहीबाट सवारीको विवरण माग गर्न वा प्रविष्ट गर्नसक्ने व्यवस्था गरिएको छ ।
सेवाग्राही आफैँले सूचना प्रणालीमा आफ्नो सवारी साधन तथा अनुमति पत्रको दर्ता, नवीकरण, जरिवाना उल्लंघनन तथा राजस्व बाँकी बक्यौताको अवस्थाको विवरण हेर्न मिल्नेगगरी नागरिक एप तथा सम्बन्धित भुक्तानी सेवा प्रदायकको मोवाइल एप्स तथा वेब पोर्टलमार्फत जानकारी दिन सकिने व्यवस्था गरिएको छ ।
नागरिक एपमा रहेको ‘सवारी कर’ मा गएर समेत आफ्नो सवारीसाधन सम्बन्धी विवरण अद्यावधिक र राजस्व भुक्तानी गर्न सकिनेछ ।










