सुर्खेत । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका बाचा पूरा गर्ने दावी गरेका छन् । देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेपनि निर्वाचनका बेला जनतासँग गरिएका बाचा पूरा गरेरै छोड्ने उनले दावी गरेका हुन् ।

शनिबार गृह जिल्ला सुर्खेत पुगेका उपप्रधानमन्त्री खड्काले सुर्खेतको पूर्वी क्षेत्र गुर्भाकोट–७ स्थित गोकुलपुरमा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै देशको प्रतिकूल आर्थिक अवस्थामा पनि विकास–निर्माणका कामहरु अघि बढिरहेको बताए ।
उनले जनताको अपेक्षाअनुसार वर्तमान सरकारले काम गरिरहेको बताउँदै भने, ‘देशको प्रतिकुल आर्थिक अवस्थामा पनि समग्र कर्णाली, सुर्खेत र म निर्वाचित भएको क्षेत्रमा महत्वपूर्ण विकास योजनाहरु अघि बढेका छन्, । जनतासँग गरेका बाचा पाँच वर्षभित्र पूरा गर्न प्रतिबद्ध छु ।’
कर्णाली करिडोर र भेरी करिडोरलगायतका कर्णालीको समृद्धिसँग जोडिएका ठूला सडक योजनाहरु निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको उनको भनाइ छ ।
उपप्रधानमन्त्री खड्काले २० वर्षभित्र भेरी किनारमा आधुनिक र नमूना शहर निर्माण गरेर भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहर निर्माणको काम अघि बढेको बताए ।











