
काठमाडौं । राष्ट्रिय भलिबल टिममा कप्तान हरिहजुर थापा बर्खास्त भएका छन् । सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा आर्मीका खेलाडीले दर्शकलाई कुटपिट गरेपछि कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको निष्कर्षसहित भलिबल संघले उनलाई बर्खास्त गरेको हो ।
थापाले सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा आर्मीबाट खेलेका थिए । घटनापश्चात गठन भएको ५ सदस्यीय छानबिन समितिले दिएको सिफारिसको आधारमा संघले उनलाई कप्तानबाट हटाएको हो ।
त्यस्तै खेलका क्रममा दर्शक कुट्ने त्रिभुवन आर्मी क्लबका ३ जना खेलाडलाई पनि कारबाही गरिएको छ । दर्शकमाथि हातपात गरेको भन्दै संघले क्लबका स्पाइकर धनबहादुर भट्टलाई ६ महिना तथा राजेन्द्र विष्ट र धनपती कुँवरलाई ३ महिनाको प्रतिबन्ध लगाएको छ ।
भट्टलाई ६ महिना तथा विष्ट र कुँवरलाई ३ महिना राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै प्रतियोगितामा प्रतिबन्ध लगाउने निर्णय गरेको छानबिन समितिका संयोजक रोशन श्रेष्ठले जानकारी दिए ।











