Logo
Logo

मेन्छ्यायेम गाउँपालिका अध्यक्षको कमाउ धन्दा, स्काभेटर कब्जा गरेर ५० हजार असुल


218.1k
Shares

काठमाडौं । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङ गुण्डागर्दी शैलीमा कमाउ धन्दामा लागेका छन् । निर्माण व्यवसायीलाई धम्क्याउँदै रकम असुली गरिरहेको प्रमाण फेला परेको छ ।

अध्यक्ष खापुङ सहितको केही व्यक्तिहरूले गत असर ३० गते शनिबार एक निर्माण व्यवसायीको स्काभेटर कब्जामा लिएर ५० हजार रुपैयाँ रकम असुल गरेको भेटिएको हो ।

तेह्रथुमको खोरङगा खोलामा पुल निर्माण सम्पन्न गरेर फर्कँदै गरेको कुन्सालिङ कन्स्ट्रक्सनको स्काभेटर अध्यक्ष खापुङको निर्देशनमा केही व्यक्तिहरूले मोराहाङ बजारमा कब्जामा लिएका थिए । मोराहाङ बजारको कालोपत्रे बाटोमा स्काभेटर गुडाएको भन्दै उनीहरूले स्काभेटर कब्जामा लिएका हुन् । त्यस क्रममा खापुङले कुन्सालिङबाट अवैध रूपमा ५० हजार रुपैयाँ घुस लिएका हुन् ।

कुन्सालिङका सञ्चालक शोनाम शेर्पाले स्काभेटर नै ध्वस्त पार्ने धम्की आएपछि उनीहरूलाई रकम दिन बाध्य भएको बताएका छन् । शेर्पाले भने– ‘बाध्यात्मक अवस्थामा कालोपत्र बोटोमा स्काभेटर गुडाउनु परेको थियो । हामीबाट पनि गल्ती भएकै हो । तर, उहाँहरूले गुण्डागर्दी शैलीमा स्काभेटर कब्जा गर्नु भयो । पैसा नदिए जे पनि हुनसक्ने भनेपछि ५० हजार पैसा दिएर स्काभेटर ल्याए ।’

कालोपत्रे बाटोमा स्काभेटर गुडाउदा बाटो भत्कनसक्ने भएपछि कालोपत्रेमा स्काभेटर गुडाउन रोक लगाइएको छ । तर, यस घटनामा भने कालोपत्रेमै स्काभेटर गुडाउनुपर्ने बाध्यता आइलागेको कुन्सालिङका शेर्पा बताउँछन् ।

शेर्पाले भने– ‘हामीले पुलको काम सकेका थियौं । त्यसैले मेसिन निकाल्नुपर्ने थियो । विगतमा ‘लोबेड’ मार्फत स्काभेटर बोक्ने गरिएता पनि जिरिखिम्तिको बाटो बिग्रेका कारण निर्माणस्थलसम्म लोबेड ल्याउन नसकिएकाले कालोपत्रेमै स्काभेटर गुडाउनु परेको थियो । हामीबाट गल्ती भएकै हो । तर, उहाँहरूले धम्की  दिएर अवैध रुपमा रकम असुल्नु भयो ।’

स्काभेटर चलाउँदा कोरिएको बाटो ।

अनधिकृत असुली, मुचुल्का र क्षति मूल्याङ्कन छैन
कुन्सालिङको स्काभेटर उड्दा बाटोमा एक ठाउँमा सामान्य कोरिएको बाहेक क्षति भएको छैन । तर, कुन्सालिङसँग भने जरिवाना भन्दै अवैध  रुपमा ५० हजार रकम असुल गरिएको छ ।

कुनै सार्वजनिक संरचनामा कोहीबाट क्षति भएमा मुचुल्का उठाएर प्राविधिकबाट क्षति मूल्याङ्कन गराएर जरिवाना गराउनुपर्ने हुन्छ । तर, अध्यक्ष खापुङले यी दुबै प्रक्रिया नपुर्याई अवैध असुली गरेका हुन् ।

नियम कानुनी नै विना ५० हजार असुलेका अध्यक्ष खापुङ भने अवैध असुल गरिएको नभएर कुन्सालिङले काम बिगारेका कारण जरिवाना गरिएको प्रतिकृया दिएका छन् । उनले भने– ‘हामीले कसैबाट केही असुल गरेको छैन । हाम्रो  नियम कानुन अनुसार रकम लिएका हौ । कुन्सालिङले हाम्रो पिचमा स्काभेटर गुडाएर क्षति पुर्याएका कारण जरिवाना गरिएको हो ।’

व्यक्तिको नाममा पैसा पठाउन लगाइयो
कुन्सालिङलाई कारबाही गर्नेबारे पालिकाबाट केही निर्णय नगराएका अध्यक्ष खापुङले रकम पनि व्यक्तिको खातामा जम्मा गराएका छन् ।

अध्यक्ष खापुङले कुन्सालिङका सञ्चालक शेर्पालाई थानकुमार लिम्बूको नाममा रहेको कुमारी बैंकको खाता नम्बर २७२०१६९४२४८००००१ मा ५० हजार रकम जम्मा गराएका छन् । शेर्पाले ३० र २० हजार गरेर दुई किस्तामा लिम्बूको खातामा ५० हजार रकम जम्मा गरेका हुन् । अध्यक्ष  खापुङको निर्देशनमा शेर्पाबाट रकम लिएका लिम्बू मोराहाङ बजार व्यवस्थापन समितिका अध्यक्ष हुन् ।

सार्वजनिक सरकारी काममा हुने कारोबार व्यक्तिको खाताबाट गर्नुलाई अवैध मानिन्छ । सरकारी वा सार्वजनिक संघ संस्थाले संस्थाकै खाताबाट कारोबार गर्नुपर्ने हुन्छ । तर, अध्यक्ष खापुङ भने उक्त लेनदेन अवैध नरहेको बताउँछन् । अध्यक्ष खापुङले भने– ‘अरु कुरा जान्दिन । हामीले पैसा लिएकै हो । हामीले बजार व्यवस्थापन समितिको अध्यक्षको खातामा लिएका हौं । व्यक्तिको खातामा लिनु अवैध हुँदैन ।’

अध्यक्षको निर्देशनमा थानकुमार लिम्बूको खातामा शेर्पाले जम्मा गरेको रकमको स्कृनसट ।

पालिकाको खातामा रकम लिन अस्वीकार
रकम नबुझाएसम्म स्काभेटर छोड्न नमानेपछि रकम बुझाउन तयार कुन्सालिङका शेर्पासँग अध्यक्ष खापुङले पालिकाको खातामा रकम लिनसमेत अस्वीकार गरेका थिए ।

कुन्सालिङका शेर्पाले भने– ‘गल्ती भएका कारण तोकिएको जरिवाना तिर्न तयार छुुँ । पालिकाको खाता नम्बर पठाइदिनु भनेको थिए । तर, उहाँ (अध्यक्ष)ले व्यक्तिको खाताबाहेकबाट अन्य खातामा रकम नलिने भनेपछि स्काभेटरको सुरक्षाका लागि मैले लिम्बूको खातामा रकम जम्मा गरे ।’

क्यास रकम नै मागिरहेका अध्यक्ष खापुङले पालिका वा बजार व्यवस्थापन समितिको खातामा रकम लिन नमानेकोबाट पनि के प्रष्ट हुन्छ भने उनी उक्त रकम पचाउने तयारीमा थिए । त्यसै पनि उक्त रकम अध्यक्ष खापुङले नियम कानुनको वास्तै नगर अवैध रुपमा लिएका हुन् ।

पैसा लिए पनि मर्मतको सुरु छैन
स्काभेटरले बाटो बिगारेको भन्दै अवैध रुपमा रकम असुलेका अध्यक्ष खापुङ लगायतले अझै बाटो बनाउने सुरसार गरेका छैनन् । तर, अध्यक्ष खापुङ भने छिट्टै बाटो मर्म हुने बताउँछन् ।

हचुवाको भरमा निर्माण व्यवसायीसँग रकम असुल गरेका अध्यक्ष खापुङ बल्ल प्राविधिक मूल्याङ्कन गरेर बाटो मर्मत गरिने प्रतिक्रिया दिन्छन् ।

कालोपत्रे बाटोमा स्काभेटर गुडाउनु रोक लगाइएको अवस्थामा गुडेको कुन्सालिङको स्काभेटरबाट बाटोको एक ठाउँमा सामान्य धर्सा लागे पनि त्यस्तो ठूलो क्षति भने भएको छैन ।

निर्माण व्यवसायीसँग १० प्रतिशत पीसी माग्छन् अध्यक्ष
पालिका अध्यक्ष खापुङसँग पालिकाभित्र काम गर्ने अन्य निर्माण व्यवसायी समेत आजित छन् । गुण्डागर्दी शैलीमा काम गर्ने अध्यक्ष खापुङले निर्माण व्यवसायीसँग हरेक योजनामा पीसी माग्ने गरेको आरोप लाग्ने गरेको छ ।

मेन्छ्यायेममै काम गरिरहेका एक निर्माण व्यवसायीका अनुसार अध्यक्ष खापुङले हरेक ठेक्कामा निर्माण व्यवसायीसँग खुलेआम १० प्रतिशतसम्म पीसी माग्ने गरेका छन् । पीसी नदिएको खण्डमा विभिन्न बहानामा खापुङले दुःख दिने गरेको आरोप लाग्ने गरेको छ ।

खापुङ २०७९ को आमनिर्वाचनमा नेकपा एमालेबाट मेन्छ्यायेम गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका हुन् ।

प्रस्तुत समाचारमा सम्बन्धित व्यक्तिबाट खण्डन प्राप्त भएकाले प्रकाशन गरिएको छ । –सम्पादक

प्रतिक्रिया दिनुहोस्