काठमाडौं । कोशी प्रदेश सरकार गठनविरूद्ध रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ । बुधबार न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बहस सकिएपनि फैसला लेखनमा समय अपुग भएको भन्दै आजलाई हेर्दाहेर्दैको पेशी तोकिएको थियो ।

उक्त इजलासले आजै आदेश सुनाउने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले यही गएको असार २१ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापालाई असंवैधानिक रूपमा नियुक्त गरेको भन्दै एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए ।
प्रदेशमा थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेको विरूद्ध एमाले सर्वोच्च पुगेको हो । कार्कीले रिटमा संविधानको धारा १६८ उपधारा २ अनुसार थापाको नियुक्ति अवैध भएको दाबी गर्दै नियुक्ति खारेज गर्न र धारा १६८ को उपधारा ३ अनुसार आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन् ।











