विराटनगर । नेकपा एमालेले बहुमत सदस्यको हस्ताक्षर लिएर कोशी प्रदेश सरकार गठनका लागि दाबी नगर्ने जनाएको छ ।
सर्वोच्च अदालतले मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्दै संविधानको धारा १६८(२) अन्तर्गत नै पुनः सरकार गठनको आदेश दिएको छ ।

न्यायाधीश ईश्वर प्रसाद खतिवडा, आनन्द मोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहीबार मुख्यमन्त्री थापाको नियुक्ति असंवैधानिक ठहर गर्दै सात दिनभित्र नयाँ सरकार गठन गर्न समेत आदेश दिएको छ । सर्वोच्चको उक्त आदेशपछि एमालेले अब बहुमत सदस्यको हस्ताक्षर लिएर सरकार दावी गर्न प्रदेश प्रमुख समक्ष नजाने बताएको हो ।
गएको असार २१ गते सभामुख बाबुराम गौतमको हस्ताक्षर लिएर दाबी गर्न गएका उद्धव थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्ति गरेका थिए । एमालेले सभामखुसहितको समर्थनमा मुख्यमन्त्री नियुक्तिलाई बदर गर्न माग गर्दै १६८ (३) अन्तरगत सरकार गठन हुनुपर्ने माग दाबीसहित सर्वोच्चमा रिट दायर गरेको थियो ।
उक्त रिटमाथि सर्वोच्चले फैसला गरेसँगै एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले १६८ (२) अन्तरगत रहेर सरकार गठनको दाबी नगर्ने बताएका हुन् । कोशी प्रदेशसभामा भएको दलहरूको सदस्य संख्याका आधारमा कांग्रेस सहितको सत्तारुढ गठबन्धनको बहुमत नपुग्ने र धारा १६८(३) अन्तर्गत सरकार गठन हुने उनले दाबी गरे ।
सर्वोच्चले १६८ (२) अन्तर्गत सरकार गठनका लागि ७ दिनको समय दिएको छ । तर, सो समयमा सरकार गठन हुन नसक्ने भन्दै उनले अब स्वतः एमाले नेतृत्वको सरकार बन्ने बताए ।











