काठमाडौं । कोशी प्रदेशमा कामचलाउ सरकारलाई लिएर अन्योल देखिएको छ । प्रदेश प्रमुखको कार्यलयले कामचलाउ मुख्यमन्त्रीबारे निर्णय लिन नसक्दा कोशी प्रदेश सरकारविहीन बनेको छ ।

मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रियालाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै नयाँ सरकार गठनका लागि समेत आदेश दिएको छ । सर्वोच्चको आदेशसँगै मुख्यमन्त्री थापा पदमुक्त भएका छन् । गत असार २१ गते सभामुखसहितको समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भएका थिए । तर, एमालेले मुख्यमन्त्री नियुक्ति प्रक्रिया सुरुबाटै असंवैधानिक भएको र त्यसको खारेज गर्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतको पूर्ण इजलासले बदर गर्दै नयाँ सरकार गठनका लागि आदेश दिएको थियो ।
सर्वोच्चको आदेशसँगै दलहरु नयाँ सरकार गठन प्रक्रियामा जुटेका छन् । तर, यसैबेला कामचलाउ सरकारबारे भने अन्योल बढेको हो । उद्धव थापा नेतृत्वको सरकार असंवैधानिक ठहर भएसँगै कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मत कार्कीले आफू नै कामचलाउ मुख्यमन्त्री भएको दावी गर्दै आएका छन् । तर, प्रदेश प्रमुखको कार्यलयले त्यसबारे निर्णय गर्न सकेको छैन ।
प्रदेश प्रमुख परशुराम खापुङले समेत सर्वोच्च अदालतको पूर्ण इजलासबाट भएको आदेशबमोजिम शुक्रबार नयाँ सरकार गठनको आह्वान गरेका छन् । सर्वोच्चले थापाको नियुक्ति बदर गरेपछि एमाले संसदीय दलका नेता एवं तत्कालीन मुख्यमन्त्री कार्कीले आफू कामचलाउ मुख्यमन्त्रीमा फर्किएको बताइसकेका छन् । तर, उनलाई प्रदेश प्रमुखको कार्यलयले कामचलाउ मुख्यमन्त्री स्वीकारिसकेको छैन ।
शुक्रबार नयाँ सरकार गठनको आह्वान गर्दासमेत प्रदेश प्रमुख खापुङले कामचलाउ सरकारबारे मौन केही बताएनन् । थापाको नियुक्ति बदर भएको स्वीकारे पनि प्रदेश प्रम्ुख खापुङले अहिले प्रदेश सरकारविहीन अवस्थाबारे केही नबोलेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले सर्वोच्चको आदेशपछि आगामी साउन १७ गतेसम्म कसको नेतृत्वको सरकार कामचलाउ भन्नेबारे कुनै निर्णय र आदेश नभएको बताएका छन् ।
कोशी प्रदेशको महान्यायाधिवक्ता दीनमणि पोखरेलसहित सरकार पक्षका कानुन व्यवसायीहरुले भने थापा नै कामचलाउका रुपमा यथावत रहेको बताएका छन् ।
तर, तत्कालीन मुख्यमन्त्री कार्कीको पक्षमा सर्वोच्चमा बहस गरेका वरिष्ठ अधिवक्ताहरु टीकाराम भट्टराई र डा. भीमार्जुन आचार्यसहितले भने थापाको नियुक्ति नै बदर भइसकेकाले कामचलाउ सरकारमा कार्की फर्किसकेको तर्क अगाडि सारेका छन् । कामचलाउ मुख्यमन्त्री थापा कि कार्की भन्नेमा निर्णय हुन नसक्दा अहिले कोशी प्रदेश सरकारविहीन बनेको अवस्था छ ।











