काठमाडौं । कोशी प्रदेशमा गठबन्धन फुटाउन नेकपा एमालेले नेपाली कांग्रेसलाई सत्ता सहकार्यको प्रस्ताव राखेको छ । विराटनगर विमानस्थलमा आज (शुक्रबार) सञ्चारकर्मीसँग कुरा गर्दै कोशी प्रदेश एमाले संसदीय दलको नेता हिक्मतकुमार कार्कीले कांग्रेसलाई सत्ता सहकार्यको प्रस्ताव गरेका हुन् ।

पूर्वमुख्यमन्त्री समेत रहेका कार्कीले कोशीमा कांग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्ने बताए । उनले भने, ‘मेरो मान्यता के छ भने अहिले देशका दुईवटा ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेकाबीचमा यदि मुलुकको डेडलकलाई फुकाउने, संविधानलाई संस्थागत गर्ने, कानूनी राज्यलाई स्थापित गर्नेलगायतका राजनीतिक मुद्दामा कुरा मिल्छ भने हामी मिलेर अगाडि बढ्न तयार छौं ।’
कांग्रेस तयार भए सत्ताको नेतृत्व दिन समेत आफूहरू तयार भएको उनको भनाइ थियो । त्यसको लागि कांग्रेसले भागबन्डा स्पष्ट पारेर आउनुपर्ने उनले बताए । उनले भने, ‘कांग्रेस स्पष्ट भएर आयो भने आधाआधा कार्यकाल बाँड्न हामी तयार छौँ, यसका लागि छलफल अगाडि बढाउने कुराको औपचारिक सुरुवात मैले यहाँ बोलेर भयो ।’
गठबन्धनका नेताहरू भने कार्कीको उक्त प्रस्ताव गठबन्धन फुटाउने प्रयास मात्रै भएको बताउँछन् । गठबन्धनमा फाटो ल्याउन सके र सर्वोच्चले दिएको समयसीमाभित्र गठबन्धनले मुख्यमन्त्री दाबी पेश गर्न नसके कार्की स्वतः मुख्यमन्त्री बन्नेछन् ।
बिहीबार उद्धव थापा नेतृत्वको सरकार गठन संविधानसम्मत नभएको भन्दै सर्वोच्चले नयाँ सरकार गठनको लागि यही साउन १७ गतेसम्मको लागि समय दिएको छ । प्रमुख परशुराम खापुङले पनि नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन् ।
उनले साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका छन् ।
सर्वोच्चको आदेशलगत्तै गठबन्धनका नेताहरूले आन्तिरक छलफल थालेका थिए । १६ भित्रै बहुमत सांसदको समर्थन जुटाएर मुख्यमन्त्री दाबी पेश गर्ने गठबन्धनको तयारी छ । त्यसको लागि आज (शुक्रबार)देखि औपचारिक रूपमै छलफल अगाडि बढाएका छन् ।
पूर्वमुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईका अनुसार नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा सरकार गठन गर्ने तयारी छ ।
आङ्बोको नेतृत्वमा सरकार गठन हुने अवस्थामा राप्रपाले पनि समर्थन गर्न सक्ने बुझिएको छ । यसअघि पनि कांग्रेस नेता उद्धव थापासँग राप्रपा नेताको व्यक्तिगत इगोका कारण साथ नदिएको भन्दै माओवादीले आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बन्नुपर्ने माग राख्दै आएको थियो । तर, केन्द्रको आदेशअनुसार थापा नेतृत्वमा सकार गठन भएको थियो ।
राप्रपाले साथ दिए गठबन्धनलाई प्रष्ट बहुमत पुग्ने देखिन्छ । सोही कारण एमालेले कांग्रेसलाई सत्ता सहकार्यको प्रस्ताव गर्न थालेको हो । तर, यो सहकार्य सम्भव छैन । किनकी, संघीय गठबन्धनलाई नै असर गर्ने गरी कांग्रेसले एमालेसँग सहकार्य गर्न सक्दैन ।
सर्वोच्चले दिएको समयभित्र गठबन्धनले सरकार बनाउने नसके सत्ता स्वतः एमालेको हातमा पुग्छ । धारा १६८ को (१) र (२) बाट सरकार गठनको सम्भावना सकिएपछि १६८ को (३) मा जाने हो । त्यो भनेको प्रदेशसभाको सबैभन्दा धेरै सदस्य रहेको दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान हो ।
गठबन्धनले आफ्नो नेतृत्वमा सरकार गठन गर्न नसकेको खण्डमा धारा १६८ को (३) अनुसार हिक्मत कार्की स्वतः मुख्यमन्त्री नियुक्त हुनेछन् । सोही कारण कांग्रेसलाई सत्ता सहकार्यको प्रस्ताव गर्ने र गठबन्धमा फाटो ल्याउने प्रयास भएको राजनीतिकवृतमा चर्चा भइरहेको छ ।
अहिले काङ्ग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी गठबन्धमा छन् । उनीहरूको कूल सांसद ४६ छ ।
यस्तै, एमाले ४० र राप्रपाको ६ सांसद रहेको छ । गठबन्धनले राप्रपालाई समेट्न सके स्पष्ट बहुमत पुग्छ । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको समर्थन पाउनुपर्छ ।











