काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले साउन २२ गते आव्हान गरिएको लिम्बुवान बन्दप्रति ऐक्यवद्धता जनाएको छ । लिम्बुवानको सार्वभौमिकता गुमेको दिनलाई स्मरण गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले सोमबार आव्हान गरेको लिम्बुवान बन्द कार्यक्रमप्रति जसपासम्बद्ध लिम्बुवान राष्ट्रिय समितिले शनिबार विज्ञप्ति जारी गरी समर्थन र ऐक्यवद्धता जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली राज्य सत्ताले लिम्बुवानी जनताको दावीबमोजिम लिम्बुवान स्वायत्त राज्य हुन नदिने भनि पटकपटक सम्झौता गर्दै धोका दिदैँ आएको छ । वि.सं १८३१ साल साउनमा तात्कालिन स्वतन्त्र मुलुक लिम्बुवान र गोर्खाबीच लालमोहर सन्धी भई सर्तसहित नेपाल राज्यमा बस्न लिम्बुवान राजी भएको इतिहास छ ।’
साथै, विज्ञप्तिमा राज्यले लालमोहर सन्धी अनुसारका सर्त र प्रतिवद्धताहरु पालन नगरेको र लिम्बुवानमाथिको औपनिवेशिकतालाई झन तिव्रता दिएकोले त्यसको विरुद्धमा आन्दोलन चर्किदै गएको बताइएको छ । साथै पहिचानवादी लिम्बुवान आन्दोलनकर्मी सबैमा लिम्बुवान बन्द सफल बनाउन अपिल गरिएको छ ।











