Logo
Logo

विश्वासको मत पाउनेमा ढुक्क छु : मुख्यमन्त्री थापा


1.7k
Shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आफूले विश्वासको मत पाउने बताएका छन् । शुक्रबार विराटनगरस्थित प्रदेशसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री थापाले भने, ‘विश्वासको मत प्राप्त गर्नका लागि गठबन्धनसँग ४७ संख्या छ । बहुमत ४७ नै हो । त्यसैले विश्वासको मत पाउनेमा ढुक्क छु ।’ उनले भने आफूले मागेको समयमा एक दिनपछि सारिएको विषय सल्लाहमै भएको बताए ।

सञ्चारकर्मीको अर्को प्रश्नमा उनले विश्वासको मत लिने दिनसम्ममा आफूले छलफल गर्ने बताउँदै भने, ‘विश्वासको मत लिने वातावरण बनाउन कै लागि भदौ ४ गतेसम्मको समय लिएको हुँ ।’ मुख्यमन्त्री थापाले भदौ ३ गते विश्वासको मत लिने समय मागेका थिए । तर, सभामुखका भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारले ४ गतेको समय दिएको मुख्यमन्त्री थापाको सचिवालयले जनाएको छ । थापा साउन १६ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए ।

उपसभामुखले राजीनामा दिएर अप्ठ्यारो परिस्थिति सिर्जना हुने अवस्था भए त्यसबेला अर्को विकल्पमा जाने उनको भनाइ छ । यद्यपि त्यस्तो अवस्था सिर्जना नहुने मुख्यमन्त्री थापाले बताए ।

उनले भने, ‘उहाँहरूबाट पनि स्पष्ट कुरा आएको छ । प्रदेशमा गठबन्धनको सरकार भन्दा पनि सहमतीय सरकार बनाएर जानुपर्छ भन्ने उहाँहरूको कुरा हो । प्रदेशभित्रको राजनीतिलाई स्थिरता बनाएर जाने भन्ने हाम्रो कुरा हो । यदि त्यो गर्न सकेनौँ भने प्रदेशका माननीयहरूको आयु घट्ने देखिन्छ । त्यसकारण प्रदेशको स्थिरता र विकासका लागि सहमति, सहकार्य गरेर नै अगाडि बढ्नुपर्छ । दलहरुबीचको एकता नै अहिलेको आवश्यकता हो ।’

प्रतिक्रिया दिनुहोस्