विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले विश्वासको मत माग्दै मुख्य विपक्षी नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पत्राचार गरेका छन् ।
विश्वासको मत लिन एक दिनअगाडि मुख्यमन्त्री थापाले आइतबार एमाले र राप्रपासँग मत मागेका हु्न् । मुख्यमन्त्री थापाले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् ।

मख्यमन्त्री थापाले आफूहरुसँग मत मागेको एमालेले बताएको हो । कोशी प्रदेश एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘मुख्यमन्त्रीले आज हामीलाई विश्वासको मत माग्दै पत्र पठाउनुभएको छ ।’ तर, भण्डारीले मुख्यमन्त्री थापालाई विश्वासको मत दिने सम्भावना नरहेको बताए । राप्रपाले पनि केही बताएको छैन ।
प्रदेशसभामा कांग्रेस २९, माओवादी १३, एकीकृत समाजवादी ४ र जसपा १ गरि सत्ता पक्षसँग ४७ मत छ । विपक्षमा एमालेको ४० (उपसभामुखसहित) र राप्रपाको ६ गरी ४६ मत छ । यस हिसाबले अहिले सत्ता पक्षसँग बहुमत छ । तर, उपसभामुख अनुपस्थित हुने आशंका सत्ता पक्षको छ ।











