विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाको बैठकको अध्यक्षता गरेका सभाध्यक्ष मण्डलका सदस्य इसराइल मन्सुरीसमेतको मत जोडेर विश्वासको मत पाएका छन् ।

सभामुखको जिम्मेवारीमा रहेका सभाध्यक्ष मण्डलका सदस्य कांग्रेस सांसद इसराइल मन्सुरीले सोमबारको बैठक सञ्चालन गरेका थिए । उनले पनि मुख्यमन्त्री थापाको पक्षमा मतदान गरेका छन् । पक्षमा ४७ मत परेको छ । विपक्षमा ३० मत खसेको छ । बैठकमा कायम रहेका ९३ सदस्यमध्ये ७७ उपस्थित थिए ।
मतदान सकिएपछि मत सच्याउन तीन मिनेटको समय ताकेर मन्सुरीले अध्यक्ष मण्डलका अर्का सदस्य गीता तिम्सिनालाई बैठकको अध्यक्षता गर्न लगाइ आफू मतदानका लागि गएका थिए ।
त्यसलगत्तै प्रमुख प्रतिपक्षी एमालेका प्रदेशसभा सदस्यहरुले नाराबाजी गरेको थियो । तर मन्सुरी मत दिएर पुनः बैठकको अध्यक्षता गर्न गए र मत गणना गर्न प्रदेशसभा सचिवालयका कर्मचारीलाई निर्देशन दिए । आफैंले दिएको मत समेत जोडेर उनले मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा गरे ।
संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन प्रदेश सभामा शुक्रबार सूचना दर्ता गराएका थिए । थापाले सूचना दर्ता गराई आइतबारका लागि बैठक बोलाउन अनुरोध गरेका भएपनि उपसभामुख सिर्जना दनुवारले सोमबार तोकेका थिए ।
तर, बैठकको दिन कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत सहभागी नभई दनुवार बिहानै विराटनगरबाट काठमाडौं लागेका थिए ।
यसअघि सभाध्यक्ष मण्डलमै रहेका एमाले मालती लिम्बू र राप्रपाका सांसद अमरबहादुर विष्ट बिदामा बसेका थिए । त्यसपछि वर्णानुक्रमका आधारमा मन्सुरीले सभा सञ्चालन गर्नुपरेको हो ।
गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकार २०७९ असार १५ गते ढलेको थियो ।
त्यसपछि असार २१ गते सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई सर्वोच्च अदालतको आदेशले साउन ११ गते पदमुक्त गरेको थियो ।
विवादका बीच थापाले विश्वासको मत पाएसँगै कोशीको राजनीति पेचिलो बन्ने निश्चित छ ।











