Logo
Logo

कोशी सरकारलाई दूरगामी निर्णय नगर्न सर्वोच्चको आदेश


2.1k
Shares

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन प्रभावका निर्णय नगर्न आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासले उद्धव थापा नेतृत्वको सरकारलाई दीर्घकालीन र दूरगामी प्रभाव पर्ने नीतिगत निर्णय नगर्न आदेश दिएको हो ।

कोशीका पूर्वमुख्यमन्त्री एंव नेकपा एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले दिएको रिटको बिहीबार सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो । बुधबार मुख्यमन्त्री थापाले भदौ ४ गते लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै कार्कीले रिट दायर गरेका थिए ।

आदेशमा भनिएको छ, ‘मुख्यमन्त्री उद्धव थापाले संविधानसम्मत रूपमा विश्वासको मत प्राप्त गरेको भनी मान्न मिल्ने अवस्था नदेखिएकाले निजको नेतृत्वमा गठित प्रदेश सरकारबाट प्रस्तुत निवेदन उपरको सुनुवाइ टुंगो नलागेसम्म दीर्घकालीन असर पर्ने प्रकृतिका साथै नीतिगत प्रकृतिका निर्णय नगर्नू, नगराउनू भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम प्रत्यर्थीका नाममा अन्तरिम आदेश जारी गरिएको छ ।’

यही भदौ ४ गते प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले समेत थापालाई विश्वासको मत दिएपछि एमालेले विरोध गरेको थियो । प्रदेश सभाको अध्यक्षता गरिरहेका व्यक्तिले संविधानअनुसार विश्वासको मत हाल्न नपाउने एमालेको तर्क छ ।
न्यायाधीश खतिवडाको इजलासले यो मुद्दालाई पूर्ण सुनुवाइमा पठाउने निर्णय गरेको छ । भदौ १५ गते अग्राधिकारसहित मुद्दाको पूर्ण सुनुवाइका लागि पेसी तोक्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्