Logo
Logo
एमाले लुम्बिनीको अधिवेशन

एमालेको भावी अध्यक्षका आकांक्षीबीच लुम्बिनीमा भिडन्त


5.1k
Shares

काठमाडौं । लुम्बिनीको अध्यक्ष सहमतिमा चुन्न निर्देशन दिएर नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओली गत आइतबार काठमाडौँ फर्किए । ओलीले नै निर्देशन दिएपछि प्रदेश इन्चार्ज पद्मा आर्यालसहितका केही नेताले सहमतिका लागि अनेक प्रयास पनि गरे । तर, केही सिप नचलेपछि अध्यक्षसहित पदाधिकारीमा दुई प्यानल बनाएर निर्वाचनमा होमिएका छन् ।

गत आइतबार नै अधिवेशन समापन गर्नुपर्नेमा सहमतिको नाममा लम्ब्याउने काम भएको भन्दै प्रतिनिधिहरूले आक्रोश पोखेका छन् । काठमाडौ फर्किनु अघि बन्दसत्रमा सम्बोधन गर्दै ओलीले पद नहुँदैमा केही नबिग्रने भन्दै त्याग गर्न निर्देशन दिएका थिए । ओलीले पार्टी निर्देशन मान्नसमेत चेतावनी दिएका थिए । ‘निर्देशन दिनपरे दृढतापूर्वक दिनुस्, मनाउनुस, प्रतिनिधिहरुले इन्चार्जको निर्देशन मान्नुपर्छ’ ओलीले भनेका थिए ।

तर, ओलीको निर्देशनलाई कार्यकर्ताले लत्याइदिएका छन् । र, ओलीले भनेर मात्रै एमालेमा केही हुँदैन भन्ने सन्देश दिएका छन् । लुम्बिनीले ओलीको बोलीको भरमा अब पार्टी चल्दैन भन्ने सन्देश दिएको छ । लुम्बिनी एमालेको बलियो संगठन भएको प्रदेशमा पर्छ ।

राधाकृष्ण कँडेल र हरिप्रसाद रिजालको टिम मैदानमा उत्रिए पनि खासमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको प्रतिष्ठाको रुपमा लिइएको छ । पौडेल र पोखरेलले आफ्नो शक्ति परीक्षणको रुपमा अविशनलाई लिएका छन् । केन्द्रीय पदाधिकारीदेखि सदस्यहरू समेत दुई भागमा बाँडिएका छन् ।

पोखरेलले अध्यक्षमा रिजाललाई र पौडेलले कँडेललाई अघि सारेका हुन् । कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन् भने, रिजालको प्रस्तावकमा विजयविराज विष्ट र समर्थकमा लालसिंह काउछा छन् । रिजालले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।

अन्य नेताहरू पनि पौडेल र पोखरेलको पक्षमा विभाजित बनेका छन् । पौडेल र पोखरेल समूहमा विभाजित भएर प्रतिनिधि छनोटदेखि नै लविङ भएको थियो । रिजाललाई उम्मेदवारी फिर्ता नलिन निर्देशन दिएर महासचिव पोखरेल चीन भ्रमणमा उडेका छन् । कार्यबाहक महासचिव प्रदीप ज्ञवाली रिजाललाई जिताउन फिल्डमा खटिएका छन् । केन्द्रीय सदस्यहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल र शिव सुवेदी रिजाललगायतका नेताहरू रिजाललाई जिताउन लागिपरेका छन् ।

उपाध्यक्ष पौडेलसहित सचिवद्धय गोकर्ण विष्ट र छविलाल विश्वकर्मा, पोलिटब्युरो सदस्यहरू लिला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने, बैजनाथ चौधरीलगायत कँडेलको पक्षमा छन् ।

सहमतिको प्रयास सफल नभएपछि निर्वाचनमा जान बाध्य भएको अधिवेशनका प्रमुख निर्वाचन आयुक्त हरिप्रसाद भण्डारीले बताए । उनका अनुसार अध्यक्षसहित अन्य पदमा पनि आवश्यकभन्दा धेरै उम्मेदवारी परेको छ । कँडेल प्यानलबाट उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठले उम्मेदवारी दिएका छन् । रिजाल पक्षबाट पुजन विश्वकर्मा उपाध्यक्षको दाबेदार बनेका छन् । अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने भण्डारीले जानकारी दिए । अधिवेशनमा १ हजार ४ प्रतिधिनि छन् ।

रुपन्देहीबाट सबैभन्दा धेरै १६४, कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधिले नेतृत्व छान्ने छन् ।

अधिवेशन भदौ १६ र १७ गते सम्पन्न गर्ने एमालेको तयारी थियो । तर, सहमतिको नाममा अधिवेशन लम्ब्याउने काम भएको भन्दै प्रतिनिधिहरूले आक्रोश पोखेका छन् । लुम्बिनीको मात्रै नभइ केन्द्रकै गुटको उजागर भएको प्रदेश अधिवेशनमा सहभागी एक नेताले बताए । ‘सायद, आगामी महाधिवेशनको झल्को हो यो, विष्णु पौडेल र शंकर पोखरेल को बलियो भन्ने अर्थमा लुम्बिनीको अधिवेशनलाई लिने काम भयो ।’ ती नेताले भने ।

एमालेका १९ पदाधिकारीमध्ये ७ जना लुम्बिनीकै छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता र लुम्बिनीमा भएको नेतृत्व विवादले ओली तनावमा छन् । ७० वर्षे उमेर हद हटाउने निर्णय गरेर नेतृत्वमा दोहोरिन चाहेका ओलीलाई पछिल्ला गतिविधिले धक्का महसुस भएको एमाले स्रोतले जनाएको छ ।

ओलीले चितवनमा सम्पन्न १०औँ महाधिवेशनमा जस्तै खल्तीबाट नाम झिकेर पढ्ने सोच बनाएका थिए । आइतबार बिहानसम्म ओलीको त्यो प्रयास जारी थियो । तर, नेताहरू टसको मस नभएपछि पद्मालाई जिम्मा लिएर ओली काठमाडौं लागेका थिए । अन्य पदाधिकारी छिनाझम्टीमा लाग्दा उपाध्यक्ष युवराज ज्ञवाली भने मौन बसेका छन् । ज्ञवाली अधिवेशनमै सहभागी भएनन् ।

विष्णु भर्सेस शंकर
साविक लुम्बिनी अञ्चल छँदै एमाले राजनीतिमा विष्णु पौडेल भर्सेस शंकर पोखरेलजस्तो देखिएको थियो । नवौं महाधिवेशनमा ओली समूहबाट उपमहासचिवमा पोखरेल र पौडेलले उम्मेदवारी दिएका थिए । पौडेल उपमहाचिव निर्वाचित हुँदा पोखरेल पराजित भए । त्यतिबेला पौडेलले माधवकुमार नेपाल प्यानलका उपमहासचिव उम्मेदवार घनश्याम भुसाललाई सघाएको आरोप लागेको थियो । उपमहासचिवमा शंकर पराजित हुँदा विष्णु र घनश्याम निर्वाचित भएका थिए ।

चितवनमा सम्पन्न १०औँ महाधिवेशनमा विष्णुले पनि महासचिवमा दाबी गरेका थिए । तर, ओलीले शंकरलाई महासचिव बनाएर विष्णुलाई उपाध्यक्षमा थन्क्याएका थिए । स्वतन्त्र रुपमा निर्वाचन भएको भए विष्णु महासचिव बन्ने नेताहरू अहिले पनि दाबी गर्छन ।

गत निर्वाचनमा लुम्बिनी प्रदेशको स्थानीय तहदेखि प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार तय गर्दा पनि विष्णु र शंकरको गुट आमनेसामने भए । दुई नेताको टकराव लामै समयदेखि जारी रहेको लुम्बिनीका नेताहरू बताउँछन् ।

अन्य प्रदेशमा को–को ?
गत शनिबारबाट एमालेको प्रदेश अधिवेशन सुरु भएको छ । सुरुमा अधिवेशन भएको लुम्बिनीको प्रभाव अन्य प्रदेशमा पनि पर्ने संकेत देखिएको नेताहरू बताउँछन् ।

एमालेले कोशी प्रदेशको अधिवेशन असोज १२ र १३ गते विराटनगरमा गर्दै छ । असोज ५ गते सबै पालिकामाट एकैदिन अधिवेशन छनोट गर्ने एमालेको तयारी छ । कोशी प्रदेशको नेतृत्वका लागि तुलसी न्यौपाने, टीका चेम्जोङ, चिन्तन पाठकले दौडधुप बढाएका छन् । विशाल भट्टराई पनि बालकोट धाइरहेको एमाले स्रोतले जनाएको छ । विनोद ढकाल र घनश्याम खतिवडाले अध्यक्ष बन्न लविङ गरिरहेका छन् ।

मधेस प्रदेशमा असोज ५ र ६ गते प्रदेश अधिवेशन हुँदै छ । भदौ २६ गते प्रतिनिधि छनोटको मिति तोकिएको छ । प्रदेश अध्यक्षका लागि रेवती पन्त, पुरूषोत्तम पौडेल, सुमन प्याकुरेल, रामदयाल मण्डल र राजकिशोर यादवले दौडधुप बढाएका छन् ।

बागमती प्रदेशमा असोज ८ र ९ गते प्रदेश अधिवेशन हुँदै छ । एमालेले अधिवेशनका लागि भदौ २७ गते प्रतिनिधि छनोट गर्दै छ । बागमतीमा नेतृत्वका लागि खेम लोहनी, कैलाश ढुंगेलहरूको दौडधुप छ । कृष्ण दहाल, कृष्णभक्त पोखरेल, रचना खड्का, केशव पाण्डे, विजय सुवेदीले पनि नेतृत्वको दाबेदार छन् ।

एमाले गण्डकी प्रदेशको अधिवेशन असोज १५ र १६ गते हुँदै छ । प्रदेश नेतृत्वका लागि मायानाथ अधिकारी, कृष्ण थापा, राजीव पहारीलगायतले दौडधुप गरेका छन् । यस्तै, नवराज शर्मा, रामशरण बस्नेत, धनञ्जय दवाडी र रश्मी आचार्यले पनि दाबी गरेका छन् । गण्डकी प्रदेशमा पनि पृथ्वीसुब्बा गुरूङ र खगराज अधिकारी बीचको प्रतिस्पर्धाजस्तो देखिएको छ । दुबै आफूनिकट नेताहरूलाई प्रदेश अध्यक्षमा जिताउने गरी तयारी गरिरहेको बताइएको कर्णाली प्रदेशमा असोज १० र ११ गते अधिवेशन हुँदैछ । प्रदेश नेतृत्वका लागि गुलाबजंग शाह, भैरवसुन्दर श्रेष्ठ, मोहन बानियाँ र लक्ष्मी पोखरेललगायतले दौडधुप गरेका छन् । निरज आचार्य, विष्णु रिजाल, राजबहादुर बुढा, नगिन्द्र शाहलगायतले दावी गरेका छन् ।

सुदूरपश्चिममा असोज २१ र २२ गते अधिवेशन हुँदैछ । नेतृत्वका लागि कृष्ण जैसी, लालबहादुर थापा, बचन सिंहलगायतले दौडधुप गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्