काठमाडौं । चीनको गुइझाउ प्रान्तस्थित एक कलेजका विद्यार्थीले अब ड्रोनमार्फत अनलाइन अर्डर गरेका सामान १० मिनेटभन्दा केही बढी समयमै प्राप्त गर्न सक्ने भएका छन् । कलेज परिसरलाई नजिकैको सपिङ मलसँग जोडेर ड्रोनमार्फत सामान डेलिभरी सेवा सुरु गरिएको हो ।

करिब आठ किलोमिटर दूरीको उक्त मार्गबाट विद्यार्थीले अर्डर गरेका सामान छोटो समयमै प्राप्त गर्न सक्नेछन् । यस सेवाका लागि डेलिभरी शुल्क ३.८ युआन अर्थात् करिब ५७ अमेरिकी सेन्टबाट सुरु हुने जनाइएको छ ।
ड्रोन प्रविधिको प्रयोगबाट सामान ढुवानीलाई छिटो र सहज बनाउने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको हो । यसले विद्यार्थीलाई किनमेलका लागि बाहिर जानुपर्ने समय घटाउनुका साथै आधुनिक प्रविधिमा आधारित डेलिभरी सेवाको विस्तारलाई समेत देखाएको छ ।















