
काठमाडौं । नेपाली कांग्रेसका संस्थापन इतरका नेताहरूले सरकारलाई प्रहार गरिरहेको र स्वयं कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सरकारमा दबाब बढाइरहेका बेला माओवादीका एकथरी नेताहरू सत्ताको जोड घटाउमा केन्द्रित भएका छन् ।
सत्तासमीकरण र भोग्नुपरेको अप्ठेरोबारे माओवादीको उच्चतहमा बालुवाटारमा गम्भीर समीक्षा भएको उच्चस्रोतले जनाएको छ । ‘यसैसाता बालुवाटारमा माओवादी हाइकमाण्डको बैठक थियो, त्यहाँ एकदमै छानिएका पात्रहरू उपस्थित थिए, उनीहरूले कांग्रेसबाट दुःख दिन थालेकोमा सत्ताको समीकरण बदल्ने अंकगणितको बारेमा छलफल गरेका थिए, एमालेसँगको सहकार्यलाई अंक गणितमा हिसाब गरिएको थियो’, बालुवाटार उच्च स्रोतले दृष्टिलाई भन्यो ।
माओवादी उच्च स्रोतका अनुसार वालुवाटारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पार्टीको हाइकमाण्ड नेताहरूको गोप्य बैठकमा सत्ता गठबन्धनको फेरबदलको हिसाब किताबसहितको अंकगणित प्रस्तुत गरेका थिए ।
उनले एमालेको ७६ माओवादीको ३२, रास्वपा २१ राप्रपा १४ मिलाएर सरकार बनाउन सकिने यसका लागि एमालेसँगको सहकार्यलाई अघि बढाउन पार्टीभित्रकै नेताहरू खटाउन प्रस्ताव गरेका थिए । ‘उहाँले एमालेसँग मिलेर सरकार बनाउने अंकगणित प्रस्तुत गर्नुभएको छ, गृह मन्त्रालयमा कांग्रेस नेताहरूको अघोषित हस्तक्षेप, प्रहरी सरुवामा कांग्रेस नेताहरूको दबाबको विषयमा पनि कुराकानी गरेर राज्य सञ्चालनमा स्वतन्त्रतापूर्वक काम गर्न नपाएको गुनासो गर्नुभयो’, स्रोतले भन्यो ।
उनले त्यही बैठकमा एमाले अध्यक्ष केपीशर्मा ओलीलाई अंकगणितबारे जानकारी गराएको र सरकारलाई बलियो बनाउन ओलीसँग मिलेर जानुपर्ने उपाए पनि बताएको स्रोतको दाबी छ । यसरी अंकगणितकै रुपमा सरकार बदल्ने कुराको सुइको शेरबहादुर देउवाले पाएपछि गठबन्धन सरकारको विषयमा बैठकमा समीक्षा गरौँ भनेर प्रस्ताव राखिसकेका छन् । तर, प्रचण्डले यो विषयलाई चीन भ्रमणपछि समीक्षा गर्ने भनेर टारिदिएका थिए ।
कांग्रेस सांसद सुनील शर्माको पक्राउपछि कांग्रेस माओवादीभित्र अघोषित खटपट आएको देखिन्छ । जसले गर्दा सरकारको समीक्षा गर्नुपर्ने प्रस्ताव गरिएको स्रोतको दावी छ । तर, प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठले प्रचण्डको चीन भ्रमण अघि केही पनि नगरौ भ्रमण सकेर आएपछि सरकार र समग्र विषयमा समीक्षा गरौ भनेर पन्छिएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन भदौ ३० गते अमेरिकाको न्युयोर्क जाँदै छन् । असोज ३ गते प्रचण्डले राष्ट्रसंघीय महासभामा सम्बोधन गर्नेछन् । त्यसपछि अमेरिकाबाटै प्रचण्ड चीन जाने कार्यक्रम छ ।
नेपाली कांग्रेसले सरकारको समीक्षा गरौ भन्ने प्रस्ताव राखेको दुई दिनपछि प्रधानमन्त्री प्रचण्डले त्यसको सार्वजनिक रुपमै प्रतिरक्षा गरेका थिए । ‘राम्रो काम गरिरहेको छु हेरौ कसले हटाउदो रहेछ’, उनले भनेका थिए । समाजवादी मोर्चाको भेलामा उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘मलाई अब केही लिनुदिनु छैन । जे छ राष्ट्र, जनता र क्रान्तिको लागि उपलब्धिको रक्षाको लागि बाँकी जीवन सम्पूर्ण रुपमा लगाउन बाहेक सोचेको छैन । यो सरकार कति समय चल्छ चल्दैन भन्ने मेरो टेन्सन त्यतातिर छैन । कतिपयले सरकार जोगाउन यसो गर्यो उसो गर्यो भन्छन् वाइयात हो । मैले सरकारको नेतृत्व गर्दा १५ दिन भएपछि ठीकै छ, एक महिनाको भएपनि ठीकै छ । जे गर्छु राम्रो काम गर्छु राम्रो काम गर्दा गर्दै कसले हटाउँदा रहेछन् नेपाली जनताले हेर्छन् । फेरि म सरकार छाड्न गाह्रो मान्ने मान्छे पनि होइन,’ चेतावनीयुक्त भाषामा यस्तो अभिव्यक्ति दिएका थिए ।
साथै उनले चन्द्रागिरीको एउटा कार्यक्रममा पानी पर्न छाडेपछि सडकमा मान्छे उतारेर आन्दोलन गर्ने पनि बताएका थिए । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सरकारको समीक्षा गरौँ भन्ने प्रस्ताव गरेका कारण पनि सरकारमा बसेर उनले यस्तो अभिव्यक्ति दिएका हुन ।
डा. सुनील शर्मा पक्राउ परेदेखिनै देउवाले गृहमन्त्रीको कामकारवाहीबारे समीक्षा गर्ने प्रस्ताव गरेका थिए । तर, प्रधानमन्त्रीले सबै विषयहरु गठबन्धनभित्र छलफल गरेर मात्रै टुग्याउने आश्वसन दिएका थिए । ‘त्यसो होइन राम्रो काम जति माओवादीको भागमा नराम्रो गरेको जति कांग्रेसको भागमा राखेर दुष्प्रचार गर्ने तपाईहरुको यो चरम स्वार्थ देखियो’, देउवाले गठबन्धनको बैठकमा राखेको धारणा उदृत गर्दै एक नेताले भने ।
उता, प्रचण्ड चीन भ्रमणमा जानुअघि एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा २२ सदस्यीय टोली पुगेको छ । त्यसअघि माओवादीका नेताहरू पनि चीन भ्रमणबाट नेपाल आइसकेका छन् । माओवादीभित्र वर्षमान पुन लगायतका नेताहरु अहिलेपनि एमालेसँग सहकार्य गरेर जानुपर्ने पक्षमा रहेका छन् । श्रेष्ठ पनि एमालेप्रति नरमनीति राख्ने नेतामा पर्छन । ‘मैले एकाध पटक ओलीजीसँग एमाले र माओवादी मिलेर सरकार बनाम भनिसके ओली त्यति सकारात्मक बनेको देखिदैन, अन्य साना दलहरुसँग मोर्चा गर्नुभन्दा एमालेसँग गर्नु नै दीर्घकालिन फाइदा हुन्छ,’ श्रेष्ठले माओवादीको उच्च नेताहरु सम्मिलित बैठकमा भनेका थिए ।
अर्कोतर्फ सरकारले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री, निवर्तमान गृहमन्त्री, बहालवाला सचिव लगायतलाई थुनेर सुशासन कायम गर्न खोजेको सबै प्रकारका भ्रष्टाचारको फाइलहरु खोलेर कारवाही गर्न खोजेको विषयलाई पनि सत्ता परिवर्तनसँग जोडिएको छ । ‘माओवादीकै नेतृत्वमा राम्रो काम भएको हो भन्ने देखाउनका लागि पनि प्रचण्डले सरकारमाथि परेको दबाबलाई चिर्न देशव्यापी अभियान थालेका छन् ।
माओवादीको भाजपा लाइन
नेकपा माओवादीले वर्तमान सरकारको सहयात्री दल नेपाली कांग्रेसलाई तर्साउने गरी तल्लो कमिटीसम्म प्रतिरक्षा टिम बनाउन थालेको छ । समाजवादी मोर्चा बनाएर सरकारमा बलियो उपस्थिति देखाउने कोसिस गरेको माओवादीले अहिले आइसिटी फोरम नामको संगठन बनाएर ‘बौद्धिक’ प्रतिरक्षा टिम बनाउन थालेको छ ।
करिब डेढ महिना अघि अर्थात साउन ७ साउनदेखि १२ गतेसम्म सत्तारुढ माओवादी केन्द्रका नेताहरु एक साता लामो भारत भ्रमणमा पुगेका थिए । भारत भ्रमण दलको नेतृत्व उपाध्यक्ष पम्फा भुसालले गरेकी थिइन । भारत जाने टोलीमा चक्रपाणि खनाल, रामेश्वर राय यादव, सत्या पहाडी र सुरेश राई पनि सहभागी थिए । त्यो टोलीले साताव्यापी रुपमा भारतमा के के सिकेर आयो, आफ्नो पार्टीलाई कसरी रुपान्तरण गर्दैछ भन्नेबारेमा भने केही दिन यता त्यसका परिणामहरु बाहिर ल्याउन थालिएको छ ।














