Logo
Logo

ललिता निवास प्रकरणः आजदेखि प्रतिवादीका वकिलले बहस गर्ने


1.6k
Shares

काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा आज (मंगलबार)देखि प्रतिवादीका कानुन व्यवसायीले बहस गर्ने भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा जारी प्रारम्भिक (थुनछेक) सुनुवाइमा सरकारी वकिलले बहस सकिसकेका छन् ।

सोमबार भएको बहसमा सरकारी वकिलले प्रतिवादी बनाइएका सबैलाई थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए । सोमबार सरकारी वकिलका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणी नेउपानेसहित ६ जनाले बहस गरेका थिए ।

सरकारी लिखत तथा दस्तखत किर्ते गरी ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउने काम गरेको भन्दै २९० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । उक्त किर्ते प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेको थियो ।

सीआईबीले आफ्नो अनुसन्धान प्रतिवेदन बुझाउँदै संगठित अपराधको समेत मुद्दा चलाउन सिफारिस गरेको थियो । संगठित रुपमा नै किर्ते भएको देखिएको भन्दै सीआईबीले संगठित अपराधको कसुरमा पनि मुद्दा चलाउन सिफारिस गरेकोमा सरकारी वकिलले भने किर्तेमा मात्रै मुद्दा दर्ता गरेको हो ।

२९० जना प्रतिवादी बनाइको मुद्दामा प्रतिवादी तर्फका कानुन व्यवसायीको बहस भने केही दिन चल्ने देखिन्छ। प्रतिवादी तर्फका कानुन व्यवसायीको बहसपछि सरकारी वकिलको जवाफी बहस हुनेछ । जवाफी बहस सकिएपछि काठमाडौं जिल्ला अदालतले प्रतिवादीलाई थुनामा कि तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश दिनेछ ।

प्रतिक्रिया दिनुहोस्