काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी मध्यावधि निर्वाचनलगत्तै इरानमाथि नयाँ सैन्य आक्रमण गर्न आग्रह गरेका छन् ।

समाचार संस्था एक्सियोसका अनुसार इजरायलले अमेरिकाले इरानसँग कूटनीतिक समाधान खोजिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
रिपोर्टअनुसार शनिवार ट्रम्प र नेतान्याहूबीच टेलिफोन वार्ता भएको थियो । वार्तामा इरानसँगको अमेरिकी छलफलमा भएको प्रगति र पुनः सैन्य कारबाही सुरु गर्ने सम्भावनाबारे कुराकानी भएको थियो । आइतबार ट्रम्पले उक्त वार्ता निकै राम्रो भएको बताएका थिए। तर, वार्ताका विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन् ।
ट्रम्प तत्काल इरानसँग वार्ता जारी राख्ने पक्षमा देखिएका छन् भने नेतान्याहू सैन्य कारबाहीको पक्षमा रहेको रिपोर्टमा उल्लेख छ । यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी सुरक्षा अधिकारीलाई वार्ता पुनः सुरु गर्ने सम्भावनाबारे पत्र पठाएका छन् । कतारले पनि अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता गराउन मध्यस्थता गरिरहेको छ ।
यता, इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँग अहिलेसम्म कुनै सम्झौता नभएको बताएका छन् । उनले वार्ताको प्रगति अमेरिकाले इरानका प्रश्नहरूको जवाफ दिने तरिकामा निर्भर रहने उल्लेख गर्दै सैन्य विकल्पभन्दा कूटनीतिक समाधानलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
















